तनहुँ  । व्यास नगरपालिका-१ मा पहिरोले पाइप बगाउँदा खानेपानी वितरण अवरुद्ध भएको छ । व्यास–१३ मा पर्ने खिरखादी मुहान नजिकै माथिबाट आएको पहिरोले करिब ४० मिटर जिआइ पाइप बगाएपछि पानी वितरण प्रभावित भएको हो ।

करिब १३ किलोमिटर टाढाबाट भादगाउँ खानेपानी तथा उपभोक्ता समितिले पानी ल्याएर उपभोक्तालाई वितरण गर्दै आएको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले बताए । उनले भने, -गत भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म परेको अविरल वर्षाका कारण खानेपानी पाइपमा नोक्सान हुँदा पानी वितरणमा कठिनाइ भोग्नुपरेको छ ।- खानेपानी वितरण सहज बनाउनका लागि प्राविधिकसहितका जनशक्ति परिचालन गरिएको छ उनले बताए ।

advertisement

उक्त संस्थाले छाब्दी मुहान, छाब्दी खोलामा दुई वटा लिफ्ट र खिरखादी गरी सानाठूला चार योजनाबाट पानी सङ्कलन गरी व्यास-१ र १२ का दुई हजार ६८० घरमा खानेपानी आपूर्ति गर्दै आइरहेको छ । लामो दूरी, भौगोलिक विकटता, जनशक्ति अभाव, प्रतिकूल मौसम र वर्षायामको समयमा बाढी र पहिरोका कारण समय समयमा खानेपानी अवरुद्ध हुँदै आएको छ ।

समितिका अनुसार सानाठूला गरी चार वटा योजनाबाट प्रतिसेकेण्ड १५ लिटर पानी ट्याङ्कीमा सङ्कलन गरी उपभोक्तालाई वितरण भइरहेको छ ।

यस क्षेत्रमा बस्ती विस्तारसँगै पानीको अभाव भएपछि सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादीनदी लिफ्ट खानेपानी आयोजना पनि निर्माण भइरहेको छ । १९ करोड लागतमा आयोजना निर्माण अघि बढाइएको र हालसम्म ७० प्रतिशत कार्य प्रगति भएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिए ।

निर्माणका लागि ठेक्का पाएको पराजुली कन्स्ट्रक्सनले विसं २०८० भदौभित्र सम्पन्न गर्नेगरी २०७९ भदौमा सम्झौता गरेपनि अझै सम्पन्न हुन सकेको छैन । अध्यक्ष दरैले भने, ‘अमिलीभञ्ज्याङमा चार लाख लिटर क्षमताको मुख्य रिजर्भ ट्याङ्की निर्माण सम्पन्न गरी गार्ड हाउस र फिल्टर मिडियाको कार्य भइरहेको छ ।’

  • रासस

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com