काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश समितिले पार्टी केन्द्रीय संरचना तत्काल पुनर्गठन गर्न माग गरेको छ। सोमबार साँझ बसेको प्रदेश समिति बैठकले पारित गरेको निर्णयबारे महामन्त्री सन्तोषराज जोशीले पत्रमार्फत पार्टी केन्द्रलाई जानकारी गराएका छन्।
पत्रमा मुलुकको समृद्धि र पार्टीको सांगठनिक सुधारका लागि कमजोरी स्वीकार्नुपर्ने निष्कर्ष निकालिएको छ। व्यक्तिपूजाको प्रवृत्ति अन्त्य गर्नुपर्ने, केन्द्रीय समितिको विस्तारित भेला बोलाउनुपर्ने र तत्काल केन्द्र पुनर्गठन गर्नुपर्ने मागसमेत राखिएको छ।
बैठकले प्रदेश पुनर्संरचना गरी प्रदेश समितिलाई केवल सांगठनिक संरचना होइन, स्वायत्तता पनि दिनुपर्ने सुझाव दिएको छ।
यसैगरी, सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट निकाल्ने प्रक्रियामा ‘हडबडी निर्णय’ भएको भन्दै आलोचना गरिएको छ। पत्रमा भनिएको छ, “पटक–पटक अपरिपक्व निर्णयका कारण सभापति र पार्टी दुवैलाई धोका पुग्दै आएको छ। हालैको कारागार घटनामा पनि जिम्मेवार पदाधिकारी र केन्द्रीय सदस्यलाई समेत झोस्ने कार्य भयो, जसले ४० लाखभन्दा बढी हस्ताक्षर गरेर समर्थन गर्ने जनसमर्थक र बौद्धिक वर्गबीच पार्टीको साखमा ठेस पु¥यायो।”
पार्टी पंक्ति निष्क्रिय जस्तै बन्न पुगेको अवस्थामा नेतृ सुमना श्रेष्ठले पार्टी छाडेको घटनालाई पनि बैठकले गम्भीर प्रश्नको रूपमा लिएको छ। पत्रमा भनिएको छ, लोकतान्त्रिक दल दाबी गरे पनि पार्टीभित्र ‘केन्द्रीय निरंकुशता’ हाबी भएको र यसले लोकतन्त्रको उपहास गरेको आभास भएको छ।
बैठकले ‘निरंकुश प्रवृत्ति अन्त्य नगरी र मपाईँको राजनीतिक अभ्यास त्याग नगरी पार्टी बलियो नबन्ने’ निष्कर्ष निकालेको छ।
प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार













प्रतिक्रिया