काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टीलाई रुपान्तरण गर्ने आवश्यकता औंल्याउँदै यसका लागि दुई विकल्प प्रस्ताव गरेका छन्।
केन्द्रीय समितिको बैठकमा बोल्दै उनले पहिलो विकल्प मंसिरमै महाधिवेशन गर्ने र दोस्रो विकल्प विस्तारित बैठकमार्फत अघि बढ्ने प्रस्तुत गरेका हुन्। परियारले यसअघि तोकिएको मिति फागुन ७, ८ र ९ गतेका लागि महाधिवेशन तय भए पनि बदलिँदो परिस्थितिका कारण यसलाई छिटो गर्नुपर्ने सुझाव दिए। ‘महाधिवेशनलाई मंसिरमै ल्याएर सम्पन्न गरौं, अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरौं,’ उनले भने। उनका अनुसार जिल्ला जिल्लामा भएका सदस्य संख्याका आधारमा प्रतिनिधि ल्याएर विशेष खालको महाधिवेशन गर्न सकिनेछ।
महाधिवेशनपश्चात संगठन, विचार, नीति र राजनीतिक मुद्दामा स्पष्ट कार्यदिशा बनाएर फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावमा होमिनुपर्ने परियारको प्रस्ताव छ। उनका अनुसार चुनावमा महाधिवेशनपछिको संगठनसहित जानु पार्टीका लागि फाइदाजनक हुनेछ।
यदि मंसिरमा महाधिवेशन सम्भव नभए दशैं–तिहारपछि विस्तारित बैठक आयोजना गर्ने अर्को विकल्प पनि परियारले प्रस्तुत गरे। ‘विस्तारित बैठकबाट संगठन, विचार र राजनीतिक मुद्दाको पुनर्गठन गरौं, कार्यदिशा तय गरौं,’ उनले भने। यसरी गर्दा हालका सबै समिति यथावत रहने तर विस्तारित बैठकले केन्द्रीय सचिवालय र समितिमा पुनर्गठन गर्ने प्रस्ताव उनले अघि सारे।
बैठकमा परियारले देशको राजनीतिक परिस्थिति संविधानविपरीत गएको ठहर सुनाए। उनले भने, ‘आज हामी सामान्य अवस्थामा छैनौं। संविधानमा परिकल्पना नगरिएको धारा प्रयोग गरेर सरकार बनाइएको छ, प्रतिनिधि सभा विघटन गरिएको छ। यसले संविधानलाई आघात पुगेको छ।’
जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको स्मरण गर्दै उनले कार्की सरकार संविधानभन्दा बाहिर बनेको दाबी गरे।
परियारले भदौ २३ र २४ गतेका घटनालाई रहस्यमय बताउँदै यसको सत्य तथ्य अझै नआएको टिप्पणी गरे। त्यसैगरी, सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्कँदाको प्रसंगमा उठेका प्रश्नहरूको जवाफ पार्टीले दिनैपर्ने बताए। ‘यो देशको चौथो ठूलो राजनीतिक दल हो। त्यसैले उठेका प्रश्नबाट भाग्न पाइँदैन, सत्य तथ्य जनतालाई प्रष्ट पार्नुपर्छ,’ उनले जोड दिए।
प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार













प्रतिक्रिया