काठमाडाैं । रूपन्देहीको गैंडहवामा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ।
प्रहरीका अनुसार गैंडहवा गाउँपालिका वडा नं. ६ कानिजवा निवासी ७५ वर्षीय रामरतन सैठवार र उनकी ६८ वर्षीय पत्नी अकाली सिंह सैठवार बुधबार बिहान करेन्ट लागेर निधन भएका हुन्।
इलाका प्रहरी कार्यालय सूर्यपुराका प्रहरी निरीक्षक पुष्पराज रोकायाका अनुसार दुवै जनाको मृत्यु विद्युत मोटरको तार जोड्ने क्रममा भएको हो। बिहान ह्याण्डपाइपबाट पानी तान्न पावर सकेटमा मोटरको तार जोड्दा अकाली सिंहलाई करेन्ट लागेको थियो। श्रीमतीलाई करेन्ट लागेको देखेपछि छुटाउन गएका रामरतनलाई पनि सोही करेन्ट लागेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मोटरमा रहेको तार पावर सकेटमा जोड्दा टुपिन नभएको र नाङ्गो तार जोड्दा करेन्ट लागेको थियो।
करेन्ट लागेर मृत्यु भएका दुवैको शव अहिले पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार













प्रतिक्रिया