झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो दुई महिनामा अलैँची निर्यात ४३ दशमलव ९० प्रतिशतले बढेको छ ।

कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा ८५ करोड ९६ लाख ११ हजार बराबरको अलैँची निर्यात भएको हो ।

advertisement

गत दुई महिनाको अवधिमा ५२२ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । आव २०८१–०८२ को पहिलो दुई महिनाको अवधिमा ५९ करोड ७३ लाख ५२ हजार बराबरको अलैँची निर्यात भएको उनको भनाइ छ ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको दुई महिनामा चियाको निर्यात ३४ प्रतिशतले घटेको छ । उक्त अवधिमा ७५ करोड तीन लाख ४८ हजार बराबरको चिया निर्यात भएको छ । सूचना अधिकारी हुमागाईंका अनुसार आव २०८१–०८२ को सोही अवधिमा एक अर्ब १३ करोड ७४ लाख आठ हजार बराबरको चिया निर्यात भएको छ ।

भन्सार कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा छुर्पी ९८ दशमलव ३० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी १५५ दशमलव २० प्रतिशत, भेनियर सिट ७४ प्रतिशत, मुसुरो दाल ६५५ दशमलव १० प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी फलामे पाता ९३ दशमलव ४० प्रतिशत, अदुवा ४१ दशमलव ८० प्रतिशत र अम्रिसो ३० दशमलव १० प्रतिशतले कमी आएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।

मेची भन्सारबाट चालु आवको दुई महिनामा तीन अर्ब ६ करोड ३७ लाख ३९ हजारको मालवस्तु निर्यात भएको छ । ९रासस०

 

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com