झापा । जेनजी युवाको प्रदर्शनका क्रममा झापाबाट दुर्लभ कछुवासमेत चोरी भएको पाइएको छ । झापाको अर्जुनधारा नगरपालिका–९ स्थित कछुवा संरक्षण तथा प्रजनन केन्द्रबाट दुर्लभ कछुवा चोरी भएको हो ।

सुखानी शहीद स्मृति प्रतिष्ठानको हाताभित्र कछुवा संरक्षण तथा प्रजनन केन्द्र छ । सो केन्द्रमा पनि भदौ २४ गतेको प्रदर्शनको क्रममा आगजनी र तोडफोड भएको थियो । त्यसैक्रममा दुर्लभ प्रजातिका चार वटा कछुवा चोरीसमेत भएको प्रतिष्ठानका व्यवस्थापक रुद्रमणि सुवेदीले बताए ।

advertisement

‘केन्द्रमा रहेका सबै कछुवाको नियमित गणना हुन्छ’, सुवेदीले भने, ‘यसपटक गणना गर्दा चारवटा कछुवा चोरी भएको पाइयो ।’

प्रतिष्ठान हाताभित्र दश प्रजातिका ६० वटा दुर्लभ कछुवालाई संरक्षण गरेर राखिएको थियो । प्रतिष्ठानभित्रको कछुवा संरक्षण तथा प्रजनन केन्द्र पर्यटकका लागि मुख्य आकर्षणको केन्द्र बन्दै आएको छ ।

प्रदर्शनकारीले गरेको आगजनी र तोडफोडबाट प्रतिष्ठानको मुख्य कार्यालयसहित पर्यटकीय पूर्वाधारमा ७० लाख बराबरको क्षति पुगेको अनुमान छ ।

प्रतिष्ठानको हाताभित्र रहेको कार्यालय, डुंगा र फाउन्टेन पार्कको प्यानल बोर्डमा आगजनी तथा प्रहरी चौकी, शहीद प्रतिमा र क्यान्टिनलगायत संरचनामा तोडफोड भएको सुवेदीले जानकारी दिए ।

व्यवस्थापक सुवेदीले हाल क्षतिग्रस्त संरचनाको भग्नावशेष पन्छाएर असोज ११ गतेदेखि पर्यटकका लागि खुला गर्ने तयारी भइरहेको जानकारी दिए । नौका बिहार, शहीद प्रतिमाको अवलोकन, झोलुङ्गे पुल र फाउन्टेन पार्क हेर्न र वनभोजका लागि पर्यटकहरू आउने गर्छन् ।

कछुवा संरक्षण तथा प्रजनन केन्द्र अवलोकन र अनुसन्धानका लागि बर्सेनि करिब दुई लाख पर्यटक भित्रिने गरेको तथ्यांक छ ।

सन् २०१२ मा उभयचर वैज्ञानिक डा। केआर खम्बुको प्रेरणामा यहाँ कछुवा संरक्षण केन्द्र स्थापना गरिएको थियो । देशभरका विभिन्न विश्वविद्यालयमा अध्ययनरत जीव विज्ञानका विद्यार्थीहरू अनुसन्धानका लागि केन्द्रमा आउने गरेका छन् । स्थानीय ग्रामीण तथा सिमसार क्षेत्रबाट उद्धार गरिएका कछुवालाई यहाँ राखेर संरक्षण गरिन्छ ।

 

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com