काठमाडौं । नयाँ शक्ति नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ पुस्ताबाट उदाएका राजनीतिक शक्ति र नेतृत्वबीच एकता आवश्यक भएको बताएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौंका मेयर बालेन शाह, धरानका मेयर हर्क साम्पाङसहित नयाँ पुस्ताका सबै वैकल्पिक धारलाई संविधानलाई आधार बनाएर सहकार्य गर्न आग्रह गरे।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भट्टराईले भने, “तपाईंहरूबीच मिलेर साझा एजेन्डामा केन्द्रित हुनु अत्यावश्यक छ। अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान नै हाम्रो साझा जग हो। त्यसलाई बचाएर थप सुधार गर्न सकिन्छ, तर पछाडि फर्कने प्रश्न नै आउँदैन।”

advertisement

उनका अनुसार, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र नेपालको राजनीतिक यात्राका आधारस्तम्भ हुन्। यी विषयलाई साझा विन्दु बनाएर वैकल्पिक शक्तिहरू एउटै मोर्चा वा गठबन्धनमा जान सक्ने उनले बताए। “यदि एउटै पार्टी वा संरचनामा नअउने हो भने पनि सहकार्य र एलायन्समार्फत अघि बढ्न सकिन्छ,” भट्टराईको भनाइ थियो।

पुराना दलहरूलाई ‘थोत्रा’ पार्टीको संज्ञा दिँदै उनले कांग्रेस, एमाले र माओवादीभित्र सुधारको सम्भावना छैन भने। “यी दलहरू टाउकासम्म कुहिएका छन्। त्यहाँबाट नयाँ ऊर्जा आउने म देख्दिनँ,” उनले टिप्पणी गरे।

भट्टराईले ती दलभित्र रहेका दोस्रो, तेस्रो पुस्ताका युवाहरूलाई पनि विद्रोह गरेर नयाँ वैकल्पिक अभियानमा सहभागी हुन आग्रह गरे। “पुराना दलका असन्तुष्ट युवा साथ आए भने शासकीय सुधार छिट्टै सम्भव हुन्छ र निर्वाचन तोकिएकै समयमा हुनेछ,” उनले स्पष्ट गरे।

राजनीतिक जीवनबाट टाढा नभएको बताउँदै उनले वैकल्पिक शक्ति निर्माणमा सक्रिय साथ दिने प्रतिबद्धता पनि व्यक्त गरे। “नयाँ पुस्ताका उदयीमान शक्ति र तिनलाई साथ दिन आउने युवाहरूलाई म व्यक्तिगत रूपमा समर्थन र सहयोग गर्छु,” भट्टराईले भने।

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com