काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको आन्दोलनपछि मुलुकमा देखिएको वर्तमान अवस्था समाधानको दिशामा नबढेको बताएका छन्।

शनिबार भक्तपुरको गुण्डुमा आयोजित युवा संघ नेपालको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेका गतिविधिहरू असंवैधानिक र अलोकतान्त्रिक बाटोतर्फ उन्मुख भएको बताएका हुन्।

advertisement

‘अहिले जे भइरहेको छ, त्यो कुनै पनि अर्थमा समाधान होइन,’ ओलीले भने, ‘असंवैधानिक र अलोकतान्त्रिक बाटोले देशलाई समाधानतिर लैजान सक्दैन। केही मानिसले एक प्रतिशतभन्दा कम जनसंख्याको इच्छालाई ९९ प्रतिशत नेपालीमाथि लाद्ने प्रयास भइरहेको छ।’

अध्यक्ष ओलीले सबै राजनीतिक दल, नागरिक समाज, संघ–संस्था र विभिन्न शक्तिलाई संविधान र लोकतान्त्रिक प्रक्रियाबाटै निकास खोज्न आह्वान गरे।

‘राष्ट्रियता जोगाउन र राष्ट्रिय एकतालाई सुदृढ बनाउन अहिले सबै नेपाली एक ठाउँमा आउनुपर्छ,’ उनले भने, ‘हामीले शान्तिपूर्ण, सामाजिक सद्भावपूर्ण एकताबाटै देशको निकास निकाल्न सक्छौं। आउनुस्, छलफल गरौं, सहमति खोजौं र समाधान निकालौं।’

उनले राष्ट्रलाई सामान्य अवस्थातर्फ फर्काउने, शान्ति र सुव्यवस्था पुनःस्थापना गर्ने तथा विभाजनका खेलहरूको सामना गर्न सबैलाई सजग रहन आग्रह गरे।

‘विभिन्न शक्तिहरू नेपाललाई कहाँ पुर्‍याउन खोज्दैछन् भन्ने म स्पष्ट देखिरहेको छु,’ उनले भने, ‘नेपाली जनता सचेत र एकताबद्ध रहन जरुरी छ।’

प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com