काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। बैठक भक्तपुरको गुन्डुमा दिउँसो १ बजेका लागि बोलाइएको छ।

आज बस्ने सचिवालय बैठकमा जेन–जी आन्दोलनका क्रममा भएका मानवीय तथा भौतिक क्षतिका विषयमा अध्यक्ष केपी शर्मा ओलीमाथि उठेका प्रश्नमा समीक्षा हुने भएको छ।

advertisement

जेन–जी आन्दोलनपछि पहिलो पटक एमालेको बैठक बस्न लागेको हो। एमालेभित्र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टलगायत नेता जेन–जी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिमा पार्टी नेतृत्व पुनर्गठन हुनुपर्ने पक्षमा देखिएका छन्। तर ओलीले भने जेन–जी आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिको जिम्मा लिन अस्वीकार गर्दै आएका छन्।

२३ भदौको जेन–जी आन्दोलन र २४ को प्रदर्शनमा ७४ को मृत्यु भएको थियो भने दुई हजार बढी घाइते भएका थिए। जेन–जी आन्दोलनमा मानवीय क्षति हुनुमा ओलीले घुसपैठ भएको दाबी गरेका छन् । जेन–जी आन्दोलनपछि ३ असोजमा पहिलो पटक धारणा सार्वजनिक गर्दै ओली सरकारले ‘ताकीताकी’ गोली चलाउने आदेश नदिएको दाबी गरेका थिए।

जेन–जी आन्दोलनको गम्भीर समीक्षा हुनुपर्ने एमालेभित्र माग छ जेन–जी आन्दोलनप्रति सरकारको बेवास्ताका कारण राजनीतिक संकट आएको एमालेकै केही नेताको विश्लेषण छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समीक्षा हुने र आगामी कार्यक्रम तय हुने बताए।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जेन–जी आन्दोलनपछि बस्न लागेको केन्द्रीय सचिवालय बैठकमा पछिल्लो राजनीतिक घटनाबारे गम्भीर समीक्षा गरी आवश्यक निर्णय गर्ने बताए।

जेन–जी आन्दोलन र त्यसको अर्को दिन भएको हिंसात्मक प्रदर्शनपछि एमालेभित्र उकुसमुकुस र सन्नाटा थियो। सेनाको ब्यारेकबाट १० दिनपछि गुन्डु सरेका ओलीले उत्पन्न राजनीतिक अवस्थाबारे नेताहरूसँग ब्रिफिङ लिएका थिए।

सचिवालयमा रहेका नेताहरूले पार्टीको बैठक बोलाई आवश्यक निर्णय गर्नुपर्ने सुझाव दिएका थिए। शनिबार गुन्डुमा आयोजित सार्वजनिक कार्यक्रममा सम्बोधन गरेका ओलीले जेन–जी आन्दोलनमा क्षति नहोस् भनेर निर्देशन दिए पनि स्थिति आफ्नो हातभन्दा बाहिर गएको बताएका थिए।

उनले अन्तरिम सरकारलाई देश जिम्मा लगाएर आफू विदेश नभाग्ने पनि जनाए। सरकार संवैधानिक बाटोबाट नबनेको आरोपसमेत लगाए। उनले आफ्नो सुझावका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक सरकार गठनका लागि कदम चालेको उल्लेख गरे।

जेन–जी आन्दोलनमा क्षति हुनुमा आफूले कुनै षड्यन्त्र नगरेको ओलीको भनाइ थियो। उनले अहिले आफूलाई आक्रमणको धम्की दिँदा पनि सरकारले सुरक्षा नदिएको गुनासो गरे।

 

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com