काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय क्रिकेट टोलीलाई वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक विजयका लागि बधाई दिएका छन्।
शनिबार राति शारजाहमा सम्पन्न युएई युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको थियो। १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनमा सीमित भएको हो।
यस उपलब्धिपछि प्रचण्डले सामाजिक सञ्जालमार्फत शुभकामना दिंदै लेखेका छन्, ‘नेपालको राष्ट्रिय टोलीले वेस्ट इन्डिजलाई हराउँदै ऐतिहासिक सफलता हासिल गरेकोमा हार्दिक बधाई। यसले नेपाली युवाशक्ति– अनुशासन, क्षमता र राष्ट्र निर्माणको संकल्पसहित हरेक चुनौती सामना गर्न सक्ने प्रमाणित गरेको छ।’
उनले नेपाली टोलीले आगामी खेलहरूमा समेत उत्कृष्ठ प्रदर्शन गर्दै देशलाई गौरवान्वित बनाउने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार












प्रतिक्रिया