म्याग्दी । यहाँस्थित ८,१६७ मिटरको विश्वको सातौँ अग्लो धौलागिरि हिमालमा चालु शरदयामको आरोहण सुरु भएको छ । धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित छ ।

सभेन समिट टे«क्समार्फत आरोहणका लागि गएका तीन जना नेपाली शेर्पाको सहयोगमा स्पेन, चीन र फ्रान्सका एक÷एक जनाले आइतबार धौलागिरिको सफल आरोहण गरेका हुन् । स्पेनका जर्ज इगोचेगा रोड्रिगेज, चीनका पिङ लु, फ्रान्सका क्याथरिन मार्सेल रोजा बरी, नेपालका पेमा नर्बु शेर्पा, तारमण तामाङ र पेम्बा टासी शेर्पाको टोलीले धौलागिरिको सफल आरोहण गरेका सेभन समिट टे«क्सका सञ्चालक मिङमा शेर्पाले जानकारी दिए ।

advertisement

उनका अनुसार १४ शिखर अभियान र सात शिखर पदयात्राका शेर्पाहरुको संयुक्त टोलीले शुक्रबार धौलागिरिको चुचुरोसम्म बाटो खोलेका र शनिबार ‘रोप फिक्सिङ’ अर्थात् डोरी टाँगेका थिए ।

पर्यटन विभागका अनुसार शरदयाममा धौलागिरि आरोहणका लागि तीन वटा समूहका सात महिला र १७ पुरुषले अनुमति लिएका छन् । अनुमति लिएकाबाट रु ५० लाख ७१ हजार सलामी दस्तुर प्राप्त भएको छ ।

गत वसन्तयाममा दुई वटा समूहका १५ जनाले आरोहण अनुमति लिएवापत रु ३६ लाख ९१ हजार दुई सय ६० राजस्व सङ्कलन भएको थियो । २०२४ को शरदयाममा एक वटा समूहका १४ जना पुरुष पर्वतारोहीहरुले आरोहणको अनुमति लिएकामा रसियाका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो ।

छिनछिनमा परिवर्तन हुने मौसम धौलागिरि आरोहणको चुनौती हो । अन्य हिमालको तुलनामा धौलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ । सन् १९६० मे १३ मा अष्ट्रियाका कुर्ट डिम्बर्गरको टोलीले पहिलो पटक धौलागिरि हिमालको सफल आरोहण गरेको थियो ।

प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com