काठमाडौं । सवारी परीक्षण कार्यालय, इटहरीमा व्यापक अनियमितता भएको उजुरीपछि कार्यालय प्रमुख र लेखापाललाई जिम्मेवारीबाट हटाइएको छ।
सेवाग्राहीसँग घूस असुल्ने, मोलमोलाहिजा गर्ने र अनावश्यक झन्झट दिनेजस्ता गुनासो बढेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार मेकानिकल इन्जिनियर तथा प्रमुख रोशनकुमार देव र लेखापाल चन्द्रबहादुर बस्नेतलाई मन्त्रालयमै तानेको हो। उनीहरूलाई राजस्व हिनामिनासम्म गरेको आशंका समेत गरिएको छ।
सवारी परीक्षण कार्यालयले अन्तरप्रादेशिक सार्वजनिक सवारीसाधनका लागि बाटो इजाजतपत्र जारी गर्ने, सवारीको स्तर कायम गर्ने, प्रदूषण परीक्षण र जाँचपासजस्ता काम गर्दै आएको छ। यही जिम्मेवारी वहन गर्ने प्रमुख र लेखापालकै मिलेमतोमा अनियमितता भएको प्रमाणसहितको उजुरी सेवाग्राहीले मन्त्री कुलमान घिसिङलाई दिएका थिए।
गुनासो प्राप्त भएपछि मन्त्री घिसिङले दुवै जनालाई तत्काल पदमुक्त गर्दै छानबिन समिति गठन गरेका छन्। मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिज्यालको संयोजकत्वमा बनेको पाँच सदस्यीय समितिलाई १० कार्यदिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।
समितिलाई आरोपित कर्मचारीसँग बयान लिनेदेखि सेवाग्राहीसँग बुझ्ने, कागजात अध्ययन–अनुसन्धान गर्ने र आवश्यक कारबाहीका लागि सिफारिस गर्ने जिम्मेवारी दिइएको छ।
प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार












प्रतिक्रिया