काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएको मितिमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न गरी संसद् र सरकारको निरन्तरता सुनिश्चित गर्न सबै पक्षलाई सहयोग र सहकार्य गर्न आग्रह गरेका छन्।
बडादसैं २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुक अहिले असाधारण परिस्थितिबाट गुज्रिरहेको स्मरण गराउँदै लोकतान्त्रिक अभ्यासलाई अवरोध नपर्ने गरी निर्वाचन गराउन आग्रह गरे। “जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरता कायम गर्न संयमित भई आवश्यक सहयोग पुर्याऔं। दुर्गा भवानीले हामी सबैलाई यस कठिन परिस्थितिबाट शीघ्र उन्मुक्ति दिलाई राष्ट्रको कल्याण होस्,” सन्देशमा भनिएको छ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछिको राजनीतिक अस्थिरताका बीच तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। नयाँ सरकार गठन हुन नसकेपछि पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ। अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले भदौ २७ गते प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गतेका लागि नयाँ निर्वाचन तोकेका छन्।
यस सन्दर्भमा राष्ट्रपति पौडेलले तोकिएको मितिमा चुनाव सम्पन्न गर्न सबै तहको सहकार्य अपरिहार्य रहेको दोहोर्याएका छन्। साथै, उनले देशमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दै दशैं पर्वले राष्ट्रिय एकता र सहिष्णुतालाई थप बलियो बनाउन सकोस् भन्ने विश्वास व्यक्त गरेका छन्।
राष्ट्रपतिले जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षति तथा भौतिक ध्वंसलाई व्यवस्थापन गर्दै अगाडि बढ्न पनि सबैलाई आह्वान गरेका छन्।
प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार












प्रतिक्रिया