एजेन्सी ।  एसिया कप–२०२५ को फाइनलमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गरी उपाधि जितेपछि दुवै देशका खेलाडीबीच आरोप–प्रत्यारोप चर्किएको छ ।

पाकिस्तानका कप्तान सलमान अघाले भारतको व्यवहारलाई ‘क्रिकेटप्रति अनादर’ भन्नुभएको छ भने भने भारतीय कप्तान सूर्यकुमार यादवले च्याम्पियन टोलीलाई ‘ट्रफीबाट वञ्चित’ गरिएको गुनासो सार्वजनिक गरेका छन् ।

advertisement

आइतबार दुबईमा भएको उपाधि निर्णायक खेलपछि तेस्रो खेलमा जस्तै दुवै टोलीले हात मिलाउन अस्वीकार गरे । भारतीय टोलीले पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष तथा एसिसीका प्रमुख मोहसिन नकवीबाट ट्रफी लिन नमानेपछि र विजय समारोहमा समेत सहभागी नभएपछि स्थिति झनै बिग्रियो ।

पत्रकारहरूसँग कुरा गर्दै कप्तान सूर्यकुमारले भने, ‘मैले क्रिकेट खेल्न थालेदेखि आजसम्म कहिल्यै देखेको थिइनँ कि च्याम्पियन टोलीलाई ट्रफी दिनै नमानिएको होस् । हामीले मैदानमै बसेर सामूहिक निर्णय गरेका थियौँ । वास्तविक ट्रफी त मेरा खेलाडी र सहयोगी स्टाफ हुन्, जुन ड्रेसिङ रुममै छन् । ठूलो पर्दामा ‘भारत एसिया कप २०२५ को विजेता’ भनेर देखिनु नै हाम्रो लागि ठूलो गौरव हो ।’

फाइनलपछि करिब एक घण्टा ढिलाइ गर्दै गरिएको समारोहमा उद्घोषक साइमन डुलले सार्वजनिक रूपमा भने, ‘भारतीय टोलीले पुरस्कार ग्रहण नगर्ने निर्णय गरेको एसिसीले मलाई जानकारी गराएको छ । यसैसँगै आजको प्रस्तुती समारोह समाप्त हुन्छ ।’

यस घटनापछि पाकिस्तानका कप्तान सलमान अघा असन्तुष्ट देखिनुभयो । उनले भने, ‘प्रतियोगिताभर भारतले जे व्यवहार देखायो, त्यो क्रिकेटका लागि निकै निराशाजनक हो । यदि उनीहरूले हामीसँग हात नमिलाएर हाम्रो अनादर गरेको सोच्दा हुन् भने, वास्तवमा उनीहरूले खेलको नै अनादर गरेका हुन् । हामीले भने खेल ‘स्पिरिट’ अनुसार पदक लिएर फर्कियौँ ।’

यस पटकको एसिया कप विशेष संवेदनशील मानिएको थियो, किनकि यसअघि मात्र आणविक–सशस्त्र दुवै छिमेकीबीच घातक झडप भएको थियो । प्रतियोगिताका अघिल्ला खेलमै राजनीतिक सङ्केतहरू र मैदानमै आक्रामक शैली देखिँदा तनाव बढेको थियो ।

अघाले अन्त्यमा भने, ‘यो पहिलोपटक देखिएको घटना हो । यसरी चलिरह्यो भने भविष्यमा कहाँ पुग्छ भन्ने अनुमान गर्नै सकिँदैन । यो क्रिकेटका लागि राम्रो होइन ।’

प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com