काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा युद्ध अन्त्यका लागि सार्वजनिक गरेको २० बुँदे युद्धविराम योजनालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुलेर समर्थन गरेका छन्।
ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा युद्धविरामको सहमति भएको घोषणा गरेपछि केहीबेरमै मोदीले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका हुन्। मंगलबार बिहान फेसबुकमा लेखेका उनी भन्छन्, ‘राष्ट्रपति ट्रम्पले गाजा द्वन्द्व अन्त्यका लागि प्रस्तुत गर्नुभएको व्यापक योजनालाई हामी स्वागत गर्दछौँ।’
उनका अनुसार उक्त प्रस्तावले केवल इजरायली र प्यालेस्टिनी मात्र होइन, सम्पूर्ण पश्चिम एसियाली क्षेत्रका लागि दीर्घकालीन शान्ति, सुरक्षा र विकासतर्फ अघि बढ्ने व्यवहारिक बाटो देखाएको छ।
मोदीले सबै सम्बन्धित पक्षहरूले ट्रम्पको पहललाई स्वीकार गरी युद्ध रोक्ने प्रयासमा एकजुट हुने विश्वास व्यक्त गरेका छन्। ‘हामी आशा राख्छौं कि सबै पक्षहरू मिलेर यस ऐतिहासिक अवसरलाई उपयोग गर्नेछन्,’ उनले लेखेका छन्।
ट्रम्पको योजना हालसम्म इजरायल–प्यालेस्टाइन विवादसम्बन्धी आएका प्रस्तावहरू मध्ये सबैभन्दा विस्तृत मानिएको छ। यसमा तुरुन्तै गोलीबन्दी, इजरायली फौजको चरणबद्ध फिर्ती र सबै बन्दीहरूको रिहाइजस्ता व्यवस्था समावेश छन्।
तर घोषणा सार्वजनिक हुनासाथ हमासले उक्त प्रस्ताव अस्वीकार गर्दै आफूहरू हतियार नत्याग्ने चेतावनी दिएको छ। ट्रम्पले पनि स्पष्ट रुपमा भनेका छन्—यदि हमासले योजना स्वीकार नगरेमा इजरायललाई त्यसलाई ‘समाप्त गर्न’ अमेरिका पूर्ण साथ दिन तयार रहनेछ।
भारतले परम्परागत रूपमा इजरायल र प्यालेस्टाइन दुवैसँग सन्तुलित नीतिबाट सम्बन्ध राख्दै आएको छ। तर यसपटक मोदीले ट्रम्प योजनालाई ‘दिगो शान्तिको मार्ग’ भनेर समर्थन गरेको टिप्पणीले भारत अब क्षेत्रीय द्वन्द्व समाप्तिमा सक्रिय भूमिकामा उभिन इच्छुक देखिएको विश्लेषण गरिएको छ।
ट्रम्पको घोषणा त्यतिबेला आएको हो जब संयुक्त राष्ट्रसंघ महासभामा नेतान्याहूको भाषणका क्रममा धेरै देशका प्रतिनिधिहरू विरोधस्वरूप बाहिरिएका थिए। अमेरिकाले अझै पनि प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता नदिएको भए पनि बेलायत, फ्रान्स, क्यानडा र अष्ट्रेलियाजस्ता इजरायलका घनिष्ठ साथी देशहरूले भने पहिले नै मान्यता प्रदान गरिसकेका छन्।
प्रकाशित मिति: १४ आश्विन २०८२, मंगलबार













प्रतिक्रिया