काठमाडौं । आज विजयादशमीको अवसरमा गुरुपुरोहित र मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरी बडादशैं मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा तय गरिएको छ ।
समितिका सदस्य प्रा.डा. देवमणी भट्टराईका अनुसार परम्परागत मान्यताअनुसार टीका थाप्ने व्यक्ति पूर्व फर्किनुपर्छ भने टीका लगाइदिने मान्यजन पश्चिम फर्किनुपर्छ । उनले दक्षिणतर्फ फर्किएर टीका लगाउने परम्परा उपयुक्त नहुने बताउँदै दक्षिण दिशा पितृकर्मका लागि मात्र प्रयोग हुने धारणा प्रस्तुत गरेका छन् ।
कतिपयले चन्द्रगतिको आधारमा पनि दिशा निर्धारण गर्ने प्रचलन रहे पनि सामान्यतया: पूर्व–पश्चिमको परम्परा प्रचलित रहेको भट्टराईले बताए ।
यसैबीच समितिले देवी विसर्जनको साइत बिहान ९ बजेर २३ मिनेटमा रहेको जानकारी दिएको छ । तर विभिन्न कारणले टाढा जानुपर्ने वा तोकिएको साइतमा उपस्थित हुन नसक्नेहरूले देवी विसर्जन गरेलगत्तै टीका–जमरा ग्रहण गर्न सक्ने व्यवस्था रहेको समितिले स्पष्ट पारेको छ ।
कारण, टीका-जमरा देवी दुर्गाको प्रसाद भएकाले प्रसाद ग्रहण गर्नका लागि साइतमात्रै कुरिरहनु नपर्ने समितिको भनाइ छ ।
प्रकाशित मिति: १६ आश्विन २०८२, बिहिबार












प्रतिक्रिया