काठमाडौं । आगामी असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा मनसुनी गतिविधि सक्रिय रहने पूर्वानुमानसँगै जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा लगातार वर्षा हुने सम्भावना रहेको छ। यससँगै बाढी, डुबान, पहिरो र भू–क्षयजस्ता प्राकृतिक जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ।
विशेषगरी काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, मकवानपुरलगायतका जिल्लाका साना नदी–नालामा आकस्मिक बाढी आउन सक्ने भएकाले स्थानीय बासिन्दालाई सचेत रहन प्रशासनले आग्रह गरेको छ।
त्यस्तै, कान्ति राजमार्ग तथा बागमती, कोञ्ज्योसोम र महाँकाल गाउँपालिका जोड्ने मुख्य र सहायक सडकमार्ग प्रयोग गर्दा विशेष सावधानी अपनाउन र अत्यावश्यकबाहेक राति सवारी सञ्चालन नगर्न सुझाव दिइएको छ।
प्रशासनले संवेदनशील क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक पूर्वतयारी गर्न, जोखिम कम गर्न सुरक्षित स्थानमा बस्न र स्थानीय निकाय तथा सुरक्षा निकायले जारी गर्ने सूचनाअनुसार प्रतिकार्यमा जुट्न आग्रह गरेको छ।
प्रकाशित मिति: १७ आश्विन २०८२, शुक्रबार












प्रतिक्रिया