काठमाडौं । शनिबार साँझदेखि निरन्तर परेको वर्षापछि इलाममा ठूलो मानवीय क्षति भएको छ। जिल्लाका विभिन्न स्थानमा खसेका पहिरोका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने १५ भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्।
इलाम नगरपालिका–६ घोसमा डम्बरबहादुर पाख्रिनको घर माथिबाट खसेको पहिरोले पुरिँदा दुई जनाको ज्यान गएको छ। सोही घरका तीन जना अझै बेपत्ता छन्। घटनास्थलबाट घाइते दुई जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। प्रहरी टोलीले घटनास्थलमा पुगेर उद्धार कार्य तीव्र पारेको छ।
त्यसैगरी, माइजोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका पाँच जना परिवारका सदस्य पहिरोमा परेर हराएका छन्। रातिदेखि उनीहरूसँग सम्पर्क टुटेको स्थानीयहरूले बताएका छन्।
मांसेबुंग गाउँपालिका–१ मा बाढीले एउटा पुल बगाएको छ। सो क्षेत्रमा पनि पहिरोका कारण पाँच जना बेपत्ता भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार जिल्लाका धेरै ठाउँमा बाढी र पहिरोले क्षति पुर्याएको खबर आएको छ तर मृतक र बेपत्ताको आधिकारिक विवरण संकलन भइरहेकाले अझै स्पष्ट संख्या सार्वजनिक गरिएको छैन।
शन्दकपुर गाउँपालिका–३ सुलुबुङकी कुमार सेढाईकी आमा र छोरी पनि पहिरोमा परेर बेपत्ता भएको पुष्टि भएको छ।
इलाममा बिहानदेखि वर्षा रोकिएको छ। पानी रोकिएसँगै उद्धार कार्य सुरु गरिएको इलामका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोइरालाले जानकारी दिए। उनका अनुसार जिल्लाभरका विभिन्न ठाउँमा बाढी र पहिरोले क्षति पुर्याएकाले विस्तृत विवरण सङ्कलनको काम जारी छ।
प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार












प्रतिक्रिया