काठमाडौं । निरन्तर वर्षाका कारण रोकिएका सवारीसाधनलाई आइतबार बिहानदेखि धादिङतर्फ पठाउन थालिएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार बिहान करिब साढे ११ बजेदेखि यात्रुवाहक र मालवाहक सवारी साधनलाई क्रमशः धादिङतर्फ पठाउन सुरु गरिएको हो।
धादिङको सलाङघाटसहितका क्षेत्रमा पहिरो खसेको भए पनि त्यसलाई हटाउने कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ।
लगातारको वर्षाका कारण शनिबार नागढुंगा चेकपोस्टमा सयौं सवारी रोकिएका थिए। जोखिमका कारण धेरै गाडीहरूलाई काठमाडौंतर्फ फर्काइएका थिए।
पानी घटेसँगै र सडक आंशिक रूपमा खुल्न थालेपछि अब सवारीसाधनलाई नियन्त्रणपूर्वक र सुरक्षाको मापदण्डअनुसार धादिङतर्फ पठाइँदैछ।
प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार












प्रतिक्रिया