काठमाडौं । हालैको बाढी र पहिरोले देशभर पुर्याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले विपद् प्रतिकार्यमा सक्रिय सरकार र सुरक्षाकर्मीप्रति धन्यवाद ज्ञापन गरेका छन्।
आइतबार जारी सन्देशमा सभामुख घिमिरेले असोज १६ गतेदेखि सुरु भएका अविरल वर्षा, बाढी र पहिरोका कारण धेरै नागरिकले ज्यान गुमाउनुपरेको र ठूलो भौतिक क्षति भएको उल्लेख गर्दै आफू मर्माहत र दुःखी भएको बताएका छन्।
उनले लेखेका छन्, ‘सरकारका तर्फबाट उद्धार तथा पुनर्स्थापनाका कार्यमा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, प्राविधिक टोली र स्वयंसेवकहरूलाई व्यापक रूपमा परिचालन गरिनु प्रशंसनीय छ। यो कठिन परिस्थितिमा सबैको संयम र सहयोग प्रशंसाको योग्य छ।’
घिमिरेले विपद्पीडित नागरिकहरूप्रति गहिरो सहानुभूति र संवेदना प्रकट गर्दै राहत र पुनःस्थापनामा अझ प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन्।
‘चुनौतीपूर्ण घडीमा एकजुट भएर अघि बढे मात्र विपद् पार गर्न सकिन्छ, त्यसैले उद्धार र राहत कार्यमा संलग्न सुरक्षा निकाय तथा स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न सबै देशबासीलाई आग्रह गर्दछु,’ सभामुख घिमिरेको सन्देशमा उल्लेख छ।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार












प्रतिक्रिया