सुर्खेत । नेपालको एकमात्र फिरन्ते समुदाय राउटेले यस वर्षको दसैं उधारोमा मनाएका छन्। सरकारले दिने सामाजिक सुरक्षा भत्ता समयमा नपाएपछि उनीहरूले खसी, बाख्रा, कुखुरा र खाद्यान्न सबै गाउँलेहरूबाट उधारोमा लिएर पर्व मनाएका हुन्।

सुर्खेतको लेकवेशी नगरपालिका–१० चौरासे नजिक बसोबास गरिरहेको राउटे समुदायका करिब ४० परिवार अहिले पनि जंगलमै बस्दै आएका छन्। मुखिया वीरबहादुर शाहीका अनुसार यस पटक भत्ता नपाउँदा कठिनाइ भए पनि समुदायले परम्परागत विधिअनुसार दसैं सम्पन्न गरेका छन।

advertisement

यो वर्ष साह्रै दुःख भयो, मुखिया शाहीले भने, उधारोमा भए पनि विधि पुर्‍याएर दसैं मनायौं। उनले भने

दसैंका अवसरमा राउटेले महानवमीका दिन वनको पूजा र विजया दशमीका दिन घर पूजा गर्छन्। परम्परा अनुसार प्रत्येक घरबाट खसी वा बाख्राको वली दिने चलन छ । यो वर्ष मात्र समुदायले ७२ वटा खसी–बाख्रा र ५५ वटा कुखुराको बलि दिएका छन्।

भत्ता रोकिएपछि राउटेले गाउँलेहरूबाट ४१ बाख्रा, ५५ कुखुरा र ४१ बोरा चामल उधारोमा खरिद गरेका छन्। उधारोमा खरिद गर्दा मूल्य बढी परेको उनीहरूको गुनासो छ।
राउटे युवा दीपक शाहीले भने, “नगद भए ११ हजारमा बाख्रा पाइन्थ्यो, तर उधारो भएर १२ हजार तिर्नुपर्‍यो उनले बताए। अब भत्ता आयो भने उधारो तिर्छौं। उनले भने

राउटे समुदायले भत्ता पाएको भए दसैंपछि सुर्खेतबाट दैलेखको चिंगाडतर्फ बसाइँ सर्ने योजना थियो। तर भत्ता वितरण ढिलाइ भएपछि उनीहरू अहिले पनि सोही जंगलमा रहेका छन्।

सरकारले लोपोन्मुख राउटे समुदायलाई मासिक ४ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरेको छ। तर साउन महिनादेखि भत्ता वितरण भएको छैन। यो भत्ता दैलेखको गुराँस गाउँपालिकाबाट वितरण हुने गर्छ।

राउटे समुदायसँग दीर्घकालीन रूपमा काम गर्दै आएका सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीका अनुसार, दसैंका लागि राउटेहरूले आवश्यक सामग्री उधारोमै खरिद गरिसकेकाले भत्ता वितरण तत्काल नगर्न अनुरोध गरिएको हो।

‘त्यो समयमा भत्ता वितरण गर्दा अत्यधिक मदिरा सेवनको जोखिम थियो, खत्रीले बताए, “त्यसैले हाम्रो सिफारिसमा वितरण रोकिएको हो।’

हालका वर्षहरूमा राउटे समुदाय बजारिया मदिरामा आकर्षित हुँदै गएको देखिन्छ। परम्परागत रूपमा आफ्नै हातले बनाउने मदिरा प्रयोग गर्दै आएका उनीहरूले अब बाह्य मदिरा सेवनको लत बसालिरहेका छन्।
यस पटक भत्ता नपाएपछि उनीहरूले काठका विशेष ‘झुमा’ भाँडामा आफैं मदिरा उत्पादन गरेर दसैं मनाएका छन्।

यद्यपि, कठिन परिस्थिति र आर्थिक अभावबीच पनि राउटे समुदायले आफ्नो संस्कृति, परम्परा र आस्था जोगाएर दसैं सम्पन्न गरेको बताएका छन।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com