काठमाडौं । हालैको अविरल वर्षाका कारण इलाममा भएको जनधनको ठूलो क्षतिपछि आजदेखि राहत वितरण सुरु गरिएको छ । इलामकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुनिता नेपालका अनुसार पहिरो र बाढीबाट प्रभावित परिवारलाई प्राथमिक राहत वितरणको काम सोमबारदेखि सुरु गरिएको हो ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रजिअ नेपालले विभिन्न पालिकाका अध्यक्ष र वडा अध्यक्षको समन्वयमा राहत वितरण भइरहेको जानकारी दिइन् । उनका अनुसार हालसम्म जिल्लाका विभिन्न स्थानमा पहिरोमा पुरिएर ३७ जनाको मृत्यु, १ जना बेपत्ता र २० जना घाइते भएका छन् । तीमध्ये ९ जनाको उपचारपछि डिस्चार्ज भइसकेको छ भने ३ जना गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत धरान लगिएको छ ।

advertisement

उनले भनेकी छन्, ‘पहिरोले सयौं घर उच्च जोखिममा परेका छन् भने बाढीले पूरा बस्ती बगाउँदा दर्जनौं परिवार विस्थापित भएका छन्।’

अप्रतिकूल मौसमका कारण आइतबार स्थलगत उद्धारमा समस्या आएपछि एक गर्भवतीसहित दुई घाइतेलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । तर खराब मौसमकै कारण दोस्रो हेलिकोप्टर इलाम पुग्न नसक्दा बाँकी तीन घाइतेको उपचार जिल्ला अस्पतालमै भइरहेको उनले बताइन् ।

प्रजिअ नेपालका अनुसार स्थानीय प्रशासन, सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा राहत वितरण तथा उद्धार कार्य अघि बढाइरहेका छन् । तर, कठिन भौगोलिक अवस्था र सडक अवरुद्धका कारण राहत पु-याउन चुनौती भएको बताइन् ।

उनका अनुसार मेची राजमार्ग इलामदेखि पाँचथरसम्म करिब ६० भन्दा बढी स्थानमा साना–ठूला पहिरो खसेका कारण राजमार्ग तत्काल खुल्ने सम्भावना छैन ।

“राजमार्ग अवरुद्ध हुँदा राहत सामग्री ढुवानीमा समस्या छ, तर हामी वैकल्पिक बाटो प्रयोग गरेर प्रभावितसम्म पुग्ने प्रयासमा छौं,” प्रजिअ नेपालले भनिन् ।

प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com