काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको सरकार निवास बालुवाटारमा सोमबार राती चार सुरक्षा अंग प्रमुखसहित गृहमन्त्री ओमप्रकाश अर्यालसमेतको बैठक बसेको छ।
जेनजी अभियन्ताले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रहेका रमेश लेखकलाई पक्राउको दबाब दिँदै सडक संघर्षको चेतावनी दिएपछि बैठक बसेको थियो।
प्रधानमन्त्री कार्की, गृहमन्त्री अर्यालसहित प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीलाई बोलाएर मध्यरातिसम्म छलफल गरेका थिए।
ओली र लेखकविरुद्ध जाहेरी दर्ता गर्न जाँदा पनि प्रहरीले दर्ता गर्न नमानेको भन्दै जेनजीका अगुवा सुदन गुरुङसहितको टोलीले सरकारलाई दिएको थियो। पक्राउ गर्दा कति जोखिम हुने र अवस्था कस्तो होला भन्ने विषयमा गम्भिर छलफल भएको थियो।
जेनजी अगुवा, सहिदका परिवार तथा आन्दोलनका घाइतेहरूले पनि ओली र लेखकलाई तत्काल गिरफ्तार गरी कारबाही अघि बढाउनुपर्ने आवाज उठाइरहेका छन्।
गत शनिबार बालुवाटारमै जेनजीका पाँचवटा समूहसँगको छलफलमा पनि यही आवाज उठेको थियो। तर सरकारले पनि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले काम गरिरहेको भन्दै उक्त आयोगको प्रतिवेदन प्राप्त नहुन्जेल पूर्ववर्ती सरकारका कुनै अधिकारीउपर कारबाही अघि बढाएको छैन।
‘अहिले कारबाही प्रक्रिया अगाडि बढाए घोषित र कार्यक्रम नै सार्वजनिक भैसकेको निर्वाचन कार्यतालिका समेत प्रभावित हुन सक्ने आँकलनसहितका विश्लेषण भयो’, उच्च स्रोतले भन्यो।
प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार













प्रतिक्रिया