काठमाडौं । सरकारले असोज ११ र १२ गतेको अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरोबाट प्रभावित घरपरिवारलाई तत्काल आवास निर्माणका लागि ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मंगलबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार, बैठकले विपद् प्रभावितहरूको तत्काल राहत, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, र अस्थायी तथा स्थायी आवास व्यवस्थाका कार्यहरू प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ ।
भट्टका अनुसार, घर पूर्ण रूपमा भत्किएका परिवारलाई अस्थायी आवास निर्माणका लागि तत्काल ५० हजार रुपैयाँ वितरणको व्यवस्था मिलाइएको छ । साथै, प्राधिकरणको मापदण्डअनुसार राहत वितरण र बाढीपहिरोमा परी मृत्यु, बेपत्ता र घाइते भएकालाई प्रदान गरिने क्षतिपूर्ति रकम पनि शीघ्र निकासा गर्ने निर्णय गरिएको छ ।
बैठकले विपद् प्रभावित जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ताहरूको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ ।
त्यसैगरी, सडक, खानेपानी, विद्युत् र सञ्चारजस्ता अत्यावश्यक सेवा सुचारु गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर काम गर्ने, र केन्द्र सरकारले आवश्यक सहयोग गर्ने निर्णय गरिएको छ ।
विपद्पछिको अवस्थालाई ध्यानमा राख्दै सम्भावित महामारी नियन्त्रणका लागि सङ्घ र प्रदेश सरकारका स्वास्थ्य मन्त्रालयहरूले संयुक्त पहल गर्ने निर्णय पनि बैठकले गरेको छ ।
साथै, अन्तर्राष्ट्रिय खोज–उद्धार मापदण्ड (INSARAG) अनुसार सुरक्षाकर्मीलाई आवश्यक तालिम र पूर्वाधार व्यवस्थापन गर्ने तयारी तत्काल सुरु गर्ने निर्णय गरिएको कार्यकारी प्रमुख भट्टले जानकारी दिएका छन् ।
प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार













प्रतिक्रिया