काठमाडाैं । जिल्ला प्रहरी परिसर काठमाडौंले मृतक परिवारले ल्याएको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक विरूद्धको जाहेरी लिएर जाँचबुझ आयोगमा पठाएको छ।
मंगलबार दिउँसो चार मृतकका परिवारले परिसरमा जाहेरी बुझाएको परिसरका प्रवक्ता तथा एसपी पवन भट्टराईले जानकारी दिए।
‘भदौ २३ र २४ गतेको सम्बन्धी एउटा जाँचबुझ आयोग छ। ती दुई दिन भएका जति पनि भौतिक र मानवीय क्षतिसँग सम्बन्धित सूचना तथा निवेदनहरू हामीले जाँचबुझ आयोगको कार्यक्षेत्र पर्ने भएकाले उतै पठाएका छौं,’ उनले भने।
यस्तै, ओली र लेखकविरूद्ध पनि जाहेरी आएको हो भन्नेबारे हामीले उनलाई प्रश्न सोध्यौं।
त्यसमा उनले भने, ‘हामीले आयोगको कार्यक्षेत्रभित्र पर्ने भएकाले नियमित संयन्त्रबाट काम कारबाही नहुने भन्ने गृह मन्त्रालयको निर्णय पनि छ। त्यसकारण सबै सूचनाहरू उता पठाउँछौं। आज आएको जाहेरी दरखास्त पनि लिएर त्यहीँ पठाएका छौं।’
मृतकका परिवार पुरूषोत्तम खतिवडा, ईश्वर अधिकारी, गणेश चौलागाईं र अमेरिकाकुमारी चौधरीले जाहेरी दिएका हुन्।
उनका अनुसार ओली र लेखकले मानवता विरूद्धको कसुर र राज्यविरूद्धको कसुर गरेको भन्दै जाहेरी परेको थियो। मानवता विरूद्धको कसुर मुलुकी अपराध संहितामा उल्लेख नभएको पनि उनले बताए।
प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार













प्रतिक्रिया