काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजी अगुवा सुदन गुरुङविरुद्ध अर्को जाहेरी परेको छ।
आज बुधबार युवराज सफल नाम गरेका व्यक्तिले दुवैविरुद्ध जाहेरी लिएर जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका हुन्। परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जाहेरी आएको पुष्टि गर्दै भने, ‘उहाँहरूविरुद्ध आज पनि जाहेरी प्राप्त भएको छ। यससँगै दुईवटा जाहेरी दर्ता भएका छन्।’
यसअघि मंगलबार मात्र एमालेकै विद्यार्थी संगठन अनेरास्ववियुका पूर्वअध्यक्ष समीक बडालले साह र गुरुङविरुद्ध जाहेरी दर्ता गराएका थिए। दुवै जाहेरी अहिलेसम्म आधिकारिक रूपमा दर्ता भने भएको छैन।
२३ र २४ भदौमा भएका घटनाको अनुसन्धानका लागि विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गरिएको छ। प्रहरीका अनुसार हाल प्राप्त भएका जाहेरीहरू आयोगकै क्षेत्राधिकारमा पर्ने भएकाले ती दर्ता गरेर सोही आयोगमा पठाइने तयारी गरिएको छ।
प्रहरीले भने, ‘अहिले प्राप्त भएका जाहेरीहरू हाम्रो क्षेत्रमा नभई आयोगको अधिकारमै पर्छन्, त्यसैले आयोगमा पठाइन्छ।’
यसअघि पनि सुदन गुरुङसहितको समूहले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकविरुद्ध जाहेरी दर्ता गराएका थिए। उनीहरूले २३ भदौको आन्दोलनमा सुरक्षा निकायको गोली लागेर २१ जनाको ज्यान गएको घटनामा तिनीहरू जिम्मेवार भएको दाबी गरेका थिए। उक्त जाहेरी पनि प्रहरीले दर्ता नगरी आयोगमा पठाएको थियो।
हाल बालेन साहमाथि सिंहदरबार आगलागीको समयमा दमकल नपठाएको र सुदन गुरुङमाथि आगजनीमा संलग्न भएको आरोपमा नयाँ जाहेरी दर्ता भएको जनाइएको छ।
प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार













प्रतिक्रिया