काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-६ स्थित दुलालथोकमा बसले ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन्।
काठमाडौंबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा२ख ६५७९ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको सडक विभागको बा ५ ख ६८३ नम्बरको आइचर ट्रकलाई ठक्कर दिएको थियो। ठक्करका कारण ट्रक अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको थियो।
प्रहरीका अनुसार दुर्घटनामा ट्रकका ६ जना र बसका २ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये ट्रकमा सवार ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक प्रशान्त तामाङका अनुसार गम्भीर घाइतेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-६ का रेशम थापा, बेथानचोक गाउँपालिका-४ का ४३ वर्षीय लाइतलाल तामाङ र झापाका ५८ वर्षीय लालबहादुर राई रहेका छन्। चौतारा साँगाचोकगढी नगरपालिका-१ का ५८ वर्षीय शेरबहादुर तामाङ, फुर्वा तामाङ र भक्तपुर सूर्यविनायक का ५८ वर्षीय रामचन्द्र अधिकारी सामान्य घाइते भएका छन्।
बसमा सवार सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ का ७० वर्षीय युक्तबहादुर खत्री र बलेफी गाउँपालिका-६ का ६६ वर्षीय गोपिलाल पराजुली सामान्य घाइते भएका छन्।
घाइतेहरूलाई तत्काल उद्धार गरी पाँचखाल आधारभूत अस्पतालमा सामान्य उपचारपछि धुलिखेल अस्पतालमा पठाइएको छ।
बस चालक अहिले पाँचखाल प्रहरी चौकीको नियन्त्रणमा रहेको र दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार













प्रतिक्रिया