काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केही राजनीतिक नेताहरूको सम्पत्तिमाथि सुरु गरिएको छानबिनप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै लिङ्देनले नेताहरूको सम्पत्ति छानबिनको सुरुवातलाई स्वागत गर्दै त्यसलाई सही दिशातर्फको कदम भनेका छन्।
‘नेताहरूको सम्पत्ति छानबिनको माग हामीले वर्षौँदेखि उठाउँदै आएका हौं,’ उनले लेखेका छन्, ‘अहिले केही नेताहरूको सम्पत्तिमाथि अनुसन्धान प्रारम्भ भएको समाचार सुन्दा खुसी लागेको छ।’
तर उनले छानबिनको दायरा साँघुरो नबनाउन सरकार र सम्बन्धित निकायलाई सुझाव दिएका छन्। लिङ्देनका अनुसार छानबिन नेतासम्म सीमित नराखी उनीहरूको परिवार, नातेदार र निकट सम्बन्ध भएका व्यक्तिहरूलाई पनि समेट्न आवश्यक छ।
‘छानबिन नेताको मात्र गरेर पुग्दैन,’ उनले भनेका छन्, ‘उनका परिवार, नातेदार र अन्य निकट व्यक्तिहरूको सम्पत्तिमाथि पनि निष्पक्षरूपमा छानबिन हुनुपर्छ।’
राप्रपाले २०४६ सालपछि उच्च पदस्थ राजनीतिक नेतृत्व र शीर्ष तहका कर्मचारीहरूको सम्पत्तिको छानबिन गर्नुपर्ने माग निरन्तर उठाउँदै आएको छ। लिङ्देनले अहिले सुरु भएको प्रक्रिया राप्रपाको दीर्घकालीन मागको प्रारम्भिक कार्यान्वयनको रूपमा लिन सकिने उल्लेख गरेका छन्।

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार













प्रतिक्रिया