नुवाकोट ।  हालै परेको अविरल वर्षाका कारण नुवाकोटको कृषि बालीमा पुगेको क्षतिको लगत सङ्कलन सुरु गरिएको छ ।
वर्षाले जिल्लाभरका किसानले ठूलो नोक्सान ब्यहोर्नु परेको गुनासो आएसँगै स्थानीय तहबाट क्षतिको विवरण लिन सुरु गरिएको हो । त्यसका लागि प्रत्येक स्थानीय तहको वडा कार्यालयमार्फत किसानलाई कृषि बालीमा पुगेको क्षतिको विवरण उपलब्ध गराउन सूचना जारी गरिएको छ ।
बाढी, पहिरो र डुबानले कृषि बालीमा ठूलो क्षति पुगेको जनाउँदै जिल्लाका विभिन्न स्थानीय तहका कृषि शाखाले वडा कार्यालयमार्फत बाली क्षतिको विवरण लिन थालेको हो । जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्रमुख केशव खनालले नुवाकोटमा रहेका बाह्रवटै पालिकाले बर्सातका कारण पुगेको क्षतिको विवरण सङ्कलन सुरु गरेको बताए । यथार्थ विवरण प्राप्त भएमा क्षति ब्यहोरेका किसानलाई राहत दिनका लागि बजेटको स्रोत नभए पनि कुनै विशेष कार्यक्रममार्फत विभिन्न निकायबीच समन्वय गरी आवश्यक पहल गरिने उनको भनाइ छ ।
विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले किसानले आफ्नो बालीमा पुगेको क्षतिको विवरण, बालीको प्रकार, क्षेत्रफल, अनुमानित नोक्सानी र क्षतिको कारण उल्लेख गरी सम्बन्धित वडा कार्यालयमा निवेदन दिन भनिएको जानकारी दिए ।
उनका अनुसार बालीमा क्षति पुगेका सबै किसानलाई समयमै वडा कार्यालयमा सम्पर्क गर्न आग्रहसहितको सूचना जारी गरिएको छ ।  नगरप्रमुख श्रेष्ठले भने,   “वर्षाका कारण किसानले खेतबारीमा लगाएका धान, कोदो, तरकारी, फलफूललगायत बालीमा ठूलो क्षति पु¥याएको छ । यसबाट किसानले ठूलो नोक्सान ब्यहोरेका छन् । क्षतिको यथार्थ विवरण प्राप्त भएपछि कृषकलाई राहत, क्षतिपूर्ति, अनुदान तथा पुनः लगानी गर्न सक्ने कार्यक्रम सञ्चालन गर्नेछौँ”,

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com