काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा पूर्व सांसद तोसिमा कार्कीले देशभित्रका विकट जिल्लाका मतदाताले नाम दर्ता र मतदानमा सहज पहुँच पाउनुपर्ने भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएकी छन्।
कार्कीले आयोगलाई दिएको लिखित निवेदनमार्फत् भौगोलिक रूपमा दुर्गम र पहुँच कठिन रहेका जिल्लाहरूमा मतदाता नामावली अद्यावधिक गर्न थप बायोमेट्रिक केन्द्र स्थापना गर्न आग्रह गरेकी हुन्।
उनले भनिन्, ‘धेरै नागरिकले दूरी र पहुँचको समस्याका कारण मतदाता नामावली दर्ता गर्न असहजता भोगिरहेका छन्। डोटी, बाजुरा, म्याग्दी, रसुवा, रुकुम, बैतडी, ताप्लेजुङ, मनाङ, मुस्ताङ, ओखलढुङ्गा लगायतका जिल्लामा जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालय टाढा छन्। स्थानीय जनसङ्ख्या र घनत्वको आधारमा एकभन्दा बढी केन्द्रमा बायोमेट्रिक सुविधा उपलब्ध गराउनुपर्छ।’
त्यस्तै उनले स्थानीय तहमार्फत् नागरिकले आफ्नो नाम मतदाता नामावलीमा समावेश भएको वा नभएको जानकारी लिन पाउने व्यवस्था मिलाउन र त्यसको सूचना प्रभावकारी रूपमा पुर्याउन पनि आग्रह गरेकी छन्।
कार्कीले विदेशमा रहेका नेपाली नागरिकहरूका लागि समेत मतदानको सहज वातावरण बनाउन र कूटनीतिक माध्यमबाट पहल गर्न आयोगलाई अनुरोध गरेकी छन्।
‘विदेशमा रहेका नेपाली नागरिकले पनि आफ्नो संवैधानिक अधिकार अन्तर्गत मतदान गर्न सक्ने वातावरण आयोगले प्रविधि र कूटनीतिक माध्यम प्रयोग गरी सुनिश्चित गर्नुपर्छ,’ उनले निवेदनमा लेखेकी छन्।
निर्वाचन आयोगले भने कार्कीलाई कानुनी र आर्थिक जटिलताका कारण तत्काल यस्तो व्यवस्था सम्भव नभएको जानकारी दिएको छ।
‘आयोगले कानुनी अप्ठ्यारो र ठूलो खर्च पर्ने कारण देखायो,’ कार्कीले भनिन्, ‘तर प्रमुख आयुक्तले भने, सरकारले कानुनी अड्चन हटाई बजेटको व्यवस्था गरिदिएमा आयोग मतदान गर्न तयार छ।’
प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार












प्रतिक्रिया