पाँचथर ।  गत शनिबारदेखि अवरुद्ध रहेको तमोर कोरिडोर सडक आजदेखि सञ्चालनमा आएको छ । पाँचथर–धनकुटा सीमामा अवस्थित नावा खोलामा सडकको ट्रयाक निर्माण गरी सडक सञ्चालनमा ल्याइएको हो ।

सडक सञ्चालनमा आएसँगै लामो समयदेखि बाटोमा रोकेर राखिएका सवारी र ढुवानीका साधन गन्तव्यतर्फ लागेका छन् । विशेष पुल नभएका खोलामा सडकको अवरोध हटाउन समय लागेको हो ।

advertisement

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले कोरिडोर सडकमा मुख्य अवरोध रहेको नावा खोलामा बाढीपहिरो पन्छाउने काम सकिएसँगै आज दिउँसो ४ बजेदेखि सडक सञ्चालनमा आएको जानकारी दिनुभयो । तमोर कोरिडोर सडक योजना कार्यालयसहितका निकायले सोमबारदेखि नै उक्त सडकमा झरेको पहिरो पन्छाउने तथा बाढीले भत्काएका स्थानमा सडक निर्माणको काम गरिरहेका थिए ।

गत शनिबार र आइतबारको वर्षाका कारण पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङलाई झापासँग जोड्ने मेची राजमार्ग अवरुद्ध बनेको छ भने पाँचथर–ताप्लेजुङलाई सुनसरीको धरानसँग जोड्ने तमोर कोरिडोर सडक अवरुद्ध थियो । तमोर कोरिडोर सडक खुलेपछि इन्धनसहितका अत्याश्यक सामग्री ढुवानी हुने प्रजिअ पोखरेलले जानकारी दिए ।

मेची राजमार्गको इलामको राजदुवाली क्षेत्रमा मात्रै अवरोध बाँकी छ । राजमार्ग अवरुद्ध भएपछि इलाम–फिदिम खण्ड बुधबारदेखि एकतर्फी सञ्चालनमा आएको छ भने माइखोला–जोरकलश खण्ड सञ्चालनमा आइसकेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com