Photo- CAN
काठमाडौं । नेपाल र जापान आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा प्रवेश गरेका छन् ।
बिहीबार भएको समूह बी को खेलमा जापानले कुवेतलाई हराएपछि जापानसँगै नेपाल पनि एक खेल अगावै सुपर सिक्समा प्रवेश गरेका हुन् ।
नेपालसँग पनि यसअघि नै पराजित भइसकेको कुवेत आजको हारपछि समूह चरणबाटै बाहिरिएको छ ।
समूह बी को अन्तिम खेलमा शुक्रबार नेपाल र जापान खेल्दै छन् । उक्त खेल अब अघोषित रूपमा ‘सुपर सिक्स’को खेलजस्तै बनेको छ ।
नेपाल र जापानबीचको खेलको विजेता टोलीले सुपर सिक्स चरण सुरु गर्दा २ अंक समेत लिएर जानेछ । सुपर सिक्समा २ अंकबाट सुरु गर्नु निकै महत्वपुर्ण हुन्छ ।
समूह चरणमा आफूले हराएको टिम पनि सुपर सिक्समा पुगेको अवस्थामा विजेता टोलीले उक्त खेल जितेको २ अंक लिएर जानेछ र सुपर सिक्समा फेरि खेल्नु पर्ने छैन ।
बिहीबार भएको अर्को खेलमा समूह ए को कतारले मलेसियालाई पराजित गरेको छ । यो समूहमा यूएई पनि रहेको छ जसले कतारलाई हराइसकेको छ ।
प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार












प्रतिक्रिया