कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिका–८ फुलेलीस्थित वैजनाथ सामुदायिक वन उपभोक्ता समूहको वनका वन्यजन्तु र वन पैदावार चोरी–निकासीका घटना बढेका पाइएको छ ।

सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराका अनुसार राजनीतिक अस्थिरताको फाइदा उठाउँदै केही व्यक्तिहरू र समूहहरूले घरेलु हातहतियार, भरुवा बन्दुक र कुकुरको प्रयोग गरी वन्यजन्तु शिकारी तथा वन्यजन्तुका बच्चा समाउँदै आएका छन् ।

advertisement

साथै उनीहरूले वन सिमानाका तारबार) भत्काउने, अनुमति पुर्जी नलिई घाँस, दाउरा, डालेघाँसलगायत वन पैदावार सङ्कलन गर्ने र सामुदायिक वन क्षेत्रभित्रलाई अनधिकृत चरिचरनका रूपमा बारम्बार प्रयोग गरिरहेका छन् ।

‘वन क्षेत्रभित्र रहेका नदीनालामा घातक विषादी र विद्युत् उपकरण प्रयोग गरी माछा मार्ने र नदीमा करेन्ट प्रवाह गर्ने कार्यले वन्यजन्तु तथा जलचर प्रजातिको जीवनमा गम्भीर असर पारेको छ ’, उनले भने, ‘सामुदायिक वनभित्र चोरी शिकारी नियन्त्रण गर्न जडान गरिएका सिसिटिभी क्यामेरा, सौर्य बत्ती र निगरानीका अन्य उपकरण तोडफोड गरिएको छ ।’

सामुदायिक वन क्षेत्रभित्र राति र दिउँसो सवारीसाधन प्रवेश गरी वन्यजन्तु शिकारी, अवैध बालुवा उत्खनन र रातो माटो उत्खनन भइरहेको उनले उल्लेख गरे ।

अध्यक्ष महराले भने, ‘सार्वजनिक सूचना प्रकाशित गरी सम्बन्धित निकाय र स्थानीयलाई गैरकानुनी कार्य नगर्न आग्रह गरेका छौँ, त्यस्ता कार्य जारी रहे वन ऐन, २०७६ र समूहको विधानअनुसार कारबाही गर्न बाध्य हुनेछौँ ।’

सामुदायिक वनका पदाधिकारीहरूले डिभिजन वन कार्यालय, स्थानीय प्रशासन र प्रहरीलाई वन पैदावार र वन्यजन्तुको चोरी शिकारी नियन्त्रणमा लाग्न आग्रह गरेका छन् ।

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com