काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमा देखिने हल्ला र लोकप्रियताभन्दा राजनीति धेरै गम्भीर र जिम्मेवार विषय भएको बताएका छन्।
उनका अनुसार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रियता, विकास, समृद्धि र जनताको आवाजका आधारमा राजनीतिक रूपले स्थापित हुन नसकेका हुन्। बस्नेतले बालेन विदेशी स्वार्थको प्रभावमा परेका दाबी गर्दै सोसल मिडियामा बनाइएको उनको सस्तो लोकप्रियता अहिले उल्टै आफ्नै लागि घातक बन्दै गएको टिप्पणी गरे।
उनले लेखेका छन्, ‘राजनीति प्रायोजित सामाजिक सञ्जालको चर्चाबाट होइन, राष्ट्रियता, विकास, समृद्धि र जनताको पक्षमा उभिएर स्थापित हुने कुरा हो। तर बालेन शाह त्यहाँ चुकेका छन्।”
बस्नेतले हालको परिवेशमा बालेनप्रति समर्थन घट्दै गएको दाबी गर्दै भने, ‘पहिले सोसल मिडियामा ‘लाइक’ र समर्थनको वर्षा हुन्थ्यो, अहिले ‘हाहा’ र गालीगलौज बढ्दैछ।’
उनका अनुसार बालेनले अघिल्लो समयमा राजनीतिक प्रतिस्पर्धीहरूलाई अस्वीकार गर्न अपनाएको रणनीति अहिले उनकै विरुद्ध फर्किएको छ। ‘फेस लुकाएर र फिल्टर देखाएर टिकटकमा भाइरल हुन सकिए पनि राजनीति त्यति सरल हुँदैन,’ बस्नेतले लेखे।
उनले थपे, ‘अब युवाहरूले भावनामा होइन, विश्लेषण र विवेकका आधारमा राजनीति बुझ्ने संकेत देखिँदैछ। ‘म बालेनसँग छु’ भन्नेहरू अहिले ‘म सत्यसँग छु’ भन्दै दिशा बदल्दै छन्।’

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया