काठमाडौं । नेपाली कांग्रेस गुल्मीका महाधिवेशन प्रतिनिधिहरूले पार्टीको विशेष महाधिवेशन बोलाउन औपचारिक रूपमा माग गरेका छन्।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि मुलुक असामान्य राजनीतिक मोडमा प्रवेश गरेको भन्दै प्रतिनिधिहरूले पार्टी नेतृत्वलाई तत्काल निर्णायक कदम चाल्न आग्रह गरेका हुन्। गुल्मी जिल्लाबाट निर्वाचित ५४ मध्ये ४४ जना प्रतिनिधिले सभापति, केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्दै हस्ताक्षरसहित ध्यानाकर्षण पत्र पठाएका छन्।

advertisement

पत्रमा अहिले देश राजनीतिक, सामाजिक र आर्थिक सङ्कटको अवस्थामा रहेको उल्लेख गर्दै यस्तो संवेदनशील वेला साधारण निर्णयले होइन, साहसिक र असामान्य कदमले मात्र मुलुक र पार्टीलाई स्थायित्व दिलाउन सक्ने भनिएको छ।

ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न, त्यसका ध्वंसात्मक घटनाहरूको निष्पक्ष छानबिन गर्न र संविधान तथा लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी नेपाली कांग्रेसकै काँधमा आएको छ।’

प्रतिनिधिहरूले वर्तमान दलगत नेतृत्वले देशको बदलिँदो जनभावनालाई सम्बोधन गर्न असफल भएको आरोप लगाउँदै पार्टीभित्र नीति, नेतृत्व र संरचनामा समयसापेक्ष सुधारका लागि विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन्।

१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको कार्यकाल अन्त्यतिर पुगेको र आगामी आम निर्वाचन (फागुन २१, २०८२) का लागि पार्टीलाई सशक्त तयारी अवस्थामा ल्याउन विशेष महाधिवेशन आवश्यक रहेको उनीहरूको तर्क छ।

प्रतिनिधिहरूले २०१४ सालको ऐतिहासिक सन्दर्भ स्मरण गर्दै अहिले पनि असामान्य राजनीतिक अवस्थालाई सामूहिक निर्णयमार्फत सामना गर्नुपर्ने बताए। उनका अनुसार विशेष महाधिवेशन आत्ममन्थन, आत्ममूल्याङ्कन र आत्मसंकल्पको अवसर बन्नेछ।

पत्रमा भनिएको छ, ‘जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक दिशाबारे स्पष्ट मार्गचित्र तय गर्ने जिम्मेवारी कांग्रेसकै हो।’

ध्यानाकर्षण पत्रको अन्त्यमा भनिएको छ, ‘कांग्रेसको भौतिक संरचनामा आघात पुगे पनि हाम्रो विचार अजेय छ, हाम्रो आत्मबल सगरमाथाजस्तै अटल छ। विशेष महाधिवेशनले यही आत्मबललाई संस्थागत रूप दिनेछ।’

कांग्रेसको विधान २०१७ को धारा १७ (२) अनुसार विशेष महाधिवेशन बोलाउन सकिने प्रावधानमा आधारित रही गुल्मीका प्रतिनिधिहरूले उक्त माग प्रस्तुत गरेका हुन्।

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com