काठमाडौं । प्रतिनिधि सभाकी पूर्व सांसद सुमना श्रेष्ठले संसद पुनःस्थापनाको बहसलाई जेन–जी आन्दोलनको मर्मविपरीत भएको बताएकी छन् ।
पूर्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतासमेत रहेकी श्रेष्ठका अनुसार ठूला राजनीतिक दलका नेताहरू सत्तालिप्सामा डुबेर जनभावनाविपरीत पुनःस्थापनाको एजेन्डा अघि सारिरहेका छन् ।
उनले भनिन्, ‘ताजा जनादेशका लागि ठूला दलका एक खेमासहित सम्पूर्ण नेपाली समाज तयार भइसकेको बेला संसद पुनःस्थापनाको बहस चलाउनु स्वार्थी र सत्तालिप्सामा डुबेका नेताहरूको कार्य हो, जुन भदौ २३ को युवा आन्दोलनको मर्मविपरीत छ।’
श्रेष्ठका अनुसार नागरिक सरकारले गराउन लागेको निर्वाचनको निष्पक्षतामाथि शंका व्यक्त गर्नु वास्तवमा जनतासामु जान नसक्ने राजनीतिक दलहरूको बहाना मात्रै हो ।
उनले लेखेकी छन्, ‘जनतासामु जान डराउनु हत्यारा, भ्रष्टाचारी र कायर प्रवृत्तिको निकृष्ट उदाहरण हो । आफूलाई लोकतान्त्रिक भनी दाबी गर्ने तर त्यसको व्यवहारिक चरित्र नदेखाउनेहरूले लोकतन्त्रबाटै भाग्ने प्रयास गरिरहेका छन्, जुन नेपाली जनताले स्पष्टसँग बुझिसकेका छन् ।’
श्रेष्ठले शान्तिपूर्ण निकासतर्फ अघि बढिरहेको नेपाली समाजलाई पुनः द्वन्द्वमा लैजान खोज्ने प्रयासलाई ‘प्रतिक्रान्ति’को तयारीको रूपमा व्याख्या गरेकी छन् ।
उनले भनिन्, ‘एमाले र कांग्रेसभित्र रहेका राष्ट्रप्रेमी र निष्ठावान युवाहरूले परिस्थिति जटिल नबनाउन नेतृत्वविरुद्ध आवाज उठाउनुपर्छ । इतिहास साक्षी छ— जब प्रतिक्रान्ति उक्साइन्छ, जनताले विभाजनभन्दा माथि उठेर गोलबद्ध हुने गर्छन् ।’
श्रेष्ठले ठूला दलहरूलाई चेतावनी दिँदै थपेकी छन्, ‘कांग्रेस र एमालेले यो देशका साझा शत्रु बन्ने गल्ती नगरोस् । कुनै पनि षड्यन्त्रविरुद्ध लड्न नेपाली जनता आज सजग, सचेत र पूर्ण रूपमा तयार छन्।’

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया