काठमाडौं । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा शनिबार बिहान भएको सानो विमान दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
स्थानीय प्रहरीले दिएको जानकारीअनुसार, सिड्नीबाट करिब ८५ किलोमिटर दक्षिणमा रहेको सेलहार्बर विमानस्थलबाट बिहान करिब १० बजे (स्थानीय समयअनुसार) उडान भरेको केही समयमै विमान दुर्घटनाग्रस्त भएको हो।
विमान भुइँमा ठोक्किएपछि आगलागी भएको र फायर एन्ड रेस्क्यु न्यू साउथ वेल्सका टोलीले आगो नियन्त्रणमा ल्याएको प्रहरीले जनाएको छ। ‘दुर्घटनास्थलमा तीन जनाको मृत्यु पुष्टि गरिएको छ,’ प्रहरीले जारी गरेको वक्तव्यमा उल्लेख छ।
अष्ट्रेलियन ब्रडकास्टिङ कर्पोरेसन (एबीसी) द्वारा सार्वजनिक गरिएको भिडियो फुटेजमा रनवेमा जलेर ध्वस्त भएको विमानको अवशेष देख्न सकिन्छ।
प्रहरीले उक्त स्थानलाई अपराधस्थलका रूपमा तोकेको र घटनाको कारण पत्ता लगाउन अष्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टी ब्यूरो (ATSB) लाई औपचारिक रूपमा जानकारी दिइएको जनाएको छ।
प्रकाशित मिति: २५ आश्विन २०८२, शनिबार













प्रतिक्रिया