काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वसांसद माधव सापकोटाले राज्य कुनै पनि व्यक्ति वा समूहको भावनात्मक प्रभावमा परेर सञ्चालन हुनु नहुने बताएका छन्। उनले पछिल्ला राजनीतिक र प्रशासनिक घटनाक्रमहरूले अस्वस्थ संकेत दिएको बताउँदै, संवैधानिक प्रक्रिया र विधिको शासनलाई नै सर्वोपरि मान्नुपर्नेमा जोड दिएका छन्।

शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सापकोटाले भने, ‘राज्य कुनै व्यक्तिको लहड वा प्रतिशोधको भावनामा बग्नु हुँदैन। निर्णयहरू प्रमाण, प्रक्रिया र कानुनी आधारमा मात्र हुनुपर्छ।’

advertisement

उनले जेनजी आन्दोलनका क्रममा भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गठित छानबिन आयोगलाई आवश्यक अधिकार दिइएको उल्लेख गर्दै, दोषीहरूलाई सोही आयोगको प्रतिवेदनका आधारमा मात्र कारबाही गर्न सकिने स्पष्ट पारे। सापकोटाले भने, ‘आयोगले प्रमाणका आधारमा प्रतिवेदन पेस गर्छ। त्यसपछि मात्र दोषी ठहर भएकामाथि कानुनी कारबाहीको बाटो खुल्नेछ। भावना र बदला होइन, विधि र न्यायले मार्गनिर्देशन गर्नुपर्छ।’

उनका अनुसार पछिल्ला केही दिनयताको राजनीतिक गतिविधि र अभिव्यक्तिहरूले अस्थिरता र मुठभेडतर्फ उन्मुख संकेत दिएका छन्। उनले भने, ‘चाहे सिंहदरबारभित्रका छलफलहरू हुन् वा बाहिरका वक्तव्यहरू — यी सबैलाई गम्भीर रूपमा लिनुपर्ने अवस्था आएको छ। विधिभन्दा माथि कोही छैन भन्ने कुरा हामी सबैले सम्झनुपर्छ।’

सापकोटाले अराजकता र अव्यवस्थाको वातावरण सिर्जना गरेर देशलाई असफल राज्यतर्फ धकेल्ने प्रयास भइरहेको आरोप समेत लगाए। उनका शब्दमा, ‘अदृश्य शक्तिहरूले अस्थिरता र विभाजनको डिजाइन बनाइरहेका छन्। हामी सबैले सचेत रहँदै लोकतान्त्रिक मूल्य र वैधानिक प्रक्रियाको रक्षा गर्नुपर्छ।’

प्रकाशित मिति: २५ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com