काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग भइरहेको पार्टी एकीकरणको पहलप्रति असहमति जनाएका छन् । नयाँदिल्लीमा पत्नीको उपचाररत खनालले पार्टीको सचिवालय बैठकमा पठाएको लिखित सन्देशमार्फत स्पष्ट रूपमा बताएका छन्– अहिले पार्टी एकीकरणको समय नै होइन ।
उनले लेखेका छन्, ‘साथीहरू, अहिले हाम्रो पार्टीका लागि कसैसँग पनि एकीकरण गर्ने मौसम होइन । हामी कुनै पनि गलत दिशातर्फ नलागौँ, जसले हामीलाई र अरूलाई पनि भड्खालोमा पुर्याउँछ ।’
खनालले पार्टी गठनको मूल कारण र विगत चार वर्षको यात्राको इमानदार समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए । उनका शब्दमा, ‘सबैभन्दा पहिले नेकपा (एमाले) बाट अलग भएर एकीकृत समाजवादी बनाउनुको कारणलाई निर्मम रूपमा आत्मसमीक्षा गरौँ । ठिक–बेठिक छुट्याऔँ, नवौं महाधिवेशनदेखि उठेका युवा आवाज र कार्यपद्धतिको दिशालाई स्मरण गरौँ ।’
पूर्वप्रधानमन्त्री खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालसहित वामपन्थी नेतृत्वहरू दक्षिणपन्थी प्रभावमा परेको आरोप लगाएका छन् । उनका अनुसार, वाम दलहरूले जनतालाई सही दिशा देखाउनुपर्ने जिम्मेवारी बिर्सिएर विदेशीहरूका अपमानजनक सम्झौता र सन्धीमा संलग्न हुँदा देश संकटमा फसेको छ ।
‘वामपन्थीहरूले नै राष्ट्रलाई रूपान्तरण र राष्ट्रिय स्वाभिमान सुदृढ गर्ने जिम्मा लिनुपर्ने हो,’ उनले भने, ‘तर आज वाम नेतृत्वहरू दक्षिणपन्थीको पछि लागेर यथास्थितिवादको बाटोमा हिँडेका छन्, जसले देशलाई विदेशीको खेलमैदान बनाइरहेको छ ।’
खनालका अनुसार अबको आवश्यकता पार्टीभित्र आमूल पुनर्गठन र रूपान्तरण हो । उनले नयाँ वर्षको सन्देशमै “पुनर्गठन र रूपान्तरणको वर्ष” बनाउने आह्वान गरेको स्मरण गराउँदै भने, ‘समयले अहिले ठ्याक्कै त्यही दिशातर्फ ल्याइपुर्याएको छ ।’
खनालले पार्टी एकीकरणको सट्टा व्यापक राष्ट्रिय मोर्चा गठन गरेर आगामी प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका छन् । उनका शब्दमा, ‘अब हाम्रो कार्यदिशा स्पष्ट हुनुपर्छ — पार्टीलाई एकताबद्ध बनाएर पुनर्गठन र रूपान्तरणको ऐतिहासिक मार्गमा अघि बढौँ । कुबेलाको सहनाई बजाउने काम नगरी चुनावका लागि बृहत् राष्ट्रिय मोर्चा बनाऔँ । यही आजको सही बाटो हो ।’
खनालका अनुसार अहिले युवा पुस्तादेखि सबै राजनीतिक दलभित्र पुनर्गठन र रूपान्तरणको माग उठ्नु समय र जनताको माग हो । ‘यो फगत पुस्तावादको कुरा होइन, सबै पुस्ताको सामूहिक क्रान्तिकारी माग हो । यसलाई अस्वीकार गरेर कोही पनि अघि बढ्न सक्दैन,’ उनले जोड दिए ।
खनालले हालको जेनजी आन्दोलनलाई देशको नेतृत्वदायी राजनीतिक शक्तिहरूको असफलतासँग जोड्दै भनेका छन्, ‘युवा आन्दोलनको विस्फोट केवल आवेग वा बाह्य शक्तिको षड्यन्त्र होइन । यो दुईतिहाइ बहुमत पाएको संसद विघटनदेखि नै सुरु भएको नेतृत्वको असफलताको परिणाम हो ।’
उनले थपे, ‘हाम्रो पार्टीसहित सत्तामा बसेका सबै दलका नेतृत्वले देशलाई सही दिशा दिन नसकेकोमा अब जिम्मेवारी लिनैपर्छ ।’
खनालका अनुसार बहुदलीय प्रणालीमा देशलाई मार्गदर्शन गर्ने प्रमुख शक्ति राजनीतिक दल नै हुन्, र आजको अवस्थामा उनीहरूकै नीतिगत दिशाले मुलुकको भविष्य निर्धारण गर्नेछ ।
सारमा, खनालले पार्टी एकीकरणलाई असमयिक ठहर गर्दै आन्तरिक आत्मसमीक्षा, संगठन पुनर्गठन र रूपान्तरणमार्फत वामपन्थी आन्दोलनलाई नयाँ आधारबाट उठाउने आह्वान गरेका छन् ।
प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार












प्रतिक्रिया