काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्शेर राणाले पार्टीभित्र बढ्दो असन्तुष्टि बीच असन्तुष्ट पक्षको बैठक बोलाएका छन् ।
राणाले सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आइतबार दिउँसो १२:३० बजे बैठक बस्ने व्यवस्था मिलाएका छन् । राणानिकट एक केन्द्रीय सदस्यका अनुसार बैठकका लागि चारवटा मुख्य एजेन्डा तय गरिएको छ — नियमित महाधिवेशनको मिति टुंग्याउन दबाब दिने, महाधिवेशन समयमै नहुने अवस्था आए विशेष महाधिवेशनको तयारी अघि बढाउने, पदमुक्त नेताहरूको पुनर्बहाली, र जेन–जी आन्दोलनपछि पार्टीको निष्क्रिय अवस्थाबारे समीक्षा ।
राप्रपाको विधानअनुसार आगामी मंसिरसम्म नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने व्यवस्था छ । तर तयारी सुरु नहुँदा असन्तुष्ट पक्षले नेतृत्वमाथि दबाब बढाउन लागेको हो ।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेका नेताहरू — उपाध्यक्ष मुकुन्दश्याम गिरी, प्रवक्ता सगुन लावती, केन्द्रीय सदस्य धनसुर शाही र अनुशासन समिति संयोजक नवराज सुवेदीको विषयमा पनि विशेष छलफल हुने बताइएको छ । लिङ्देनले हालै सुवेदीको स्थानमा रोशन कार्कीलाई संयोजकमा नियुक्त गरेका थिए, जसपछि पार्टीभित्रको विवाद झन् चर्किएको हो ।
पदमुक्ती विवाद निर्वाचन आयोगसम्म पुगेको छ, र त्यसपछि पार्टी दुई धारमा विभाजित भएको छ । असन्तुष्ट पक्षले अध्यक्ष लिङ्देनलाई तत्काल केन्द्रीय समिति बैठक बोलाउन पनि माग गर्ने तयारी गरेको जनाएको छ । विधानअनुसार तीन महिनामा एकपटक बैठक बस्नुपर्ने भए पनि माघयता बैठक नबसेको उनीहरूको आरोप छ ।
जेन–जी आन्दोलनपछि पार्टीको कमजोर उपस्थिति र दिशाहीन अवस्थालाई पनि बैठकले गम्भीर रूपमा समीक्षा गर्ने बताइएको छ । हाल दुवै पक्षले आ–आफ्नै समूहमा बैठक बोलाउँदै पार्टीभित्रको दूरी अझ बढ्दै गएको देखिन्छ ।
राणाको समूहले भनेको छ — पार्टीको एकता र विश्वसनीयता जोगाउन अब संस्थागत संवाद र वैधानिक प्रक्रियामार्फत नेतृत्वलाई जवाफदेही बनाउनुपर्ने समय आएको छ ।
प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार












प्रतिक्रिया