काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका परिवारविरुद्ध सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाइएका समाचार र सामग्रीप्रति पार्टीले कडा आपत्ति जनाएको छ ।

संयोजक दाहालको सचिवालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा हालका केही समाचार र पोस्टहरू पूर्णतः तथ्यहीन, चरित्रहत्या गर्ने उद्देश्यले तयार पारिएका र नियोजित रूपमा प्रचार गरिएका भन्दै ती कार्यप्रति तीव्र आपत्ति जनाएको हो ।

advertisement

विज्ञप्तिमा भनिएको छ, ‘संकटको संवेदनशील घडीमा पार्टी नेतृत्वविरुद्ध नियोजित रूपमा प्रवाह गरिएका यस्ता असत्य र चरित्रहत्या गर्ने सामग्रीहरूप्रति हामी गम्भीर खेद व्यक्त गर्दै कडा शब्दमा भर्त्सना गर्दछौं।’

सचिवालयका संयोजक गोविन्द आचार्यद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा संविधानले प्रदत्त अभिव्यक्ति स्वतन्त्रताको अधिकारको सम्मान गर्दै पत्रकार आचारसंहिताको मर्यादा र व्यावसायिक नैतिकता पालन गर्न सबै सञ्चारकर्मी र संचारमाध्यमलाई आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि समाचार प्रकाशित वा प्रसारित गर्दा सत्यता, स्रोतको विश्वसनीयता र सम्बन्धित पक्षको दृष्टिकोण सुनिश्चित गर्नु पत्रकारको न्यूनतम दायित्व हो।’ तर पछिल्ला दिनमा दाहाल र उनका परिवारविरुद्ध आएका केही समाचार तथा सामाजिक सञ्जालका सामग्रीमा यी मापदण्डको उल्लङ्घन गरिएको उल्लेख गरिएको छ ।

सचिवालयले दाहाल निवासबाट जेन–जी आन्दोलनअघि दुई ट्रकमार्फत दुई करोड रुपैयाँ सारिएको, सुरक्षाकर्मीलाई घरेलु कामदारको रूपमा प्रयोग गरिएको, र गंगा दाहालको निवासमा आठ जना सुरक्षाकर्मी खटाइएको जस्ता दाबीहरू ‘पूर्णतः निराधार, भ्रम फैलाउने र षड्यन्त्रपूर्ण’ भएको स्पष्ट गरेको छ ।

ती दाबीहरूको कुनै प्रमाण नभएको बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘यस्ता समाचार वा सामग्री प्रस्तुत गर्नेहरूले आफ्नो दाबीको तथ्य प्रमाणसहित पुष्टि गर्न नसके कानूनी र नैतिक रूपमा त्यसको जवाफ दिन तयार रहनुपर्छ।’

पार्टीले यस्तो भ्रामक प्रचारले न केवल व्यक्तिको चरित्रहत्या गर्न खोजेको तर राजनीतिक अस्थिरता निम्त्याउने प्रयास भएको आरोप लगाउँदै तथ्यमा आधारित जिम्मेवार पत्रकारिताको आवश्यकता औंल्याएको छ ।

प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com