काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको छ ।

गत भदौ २३ र २४ गतेको जेन–जी युवा आन्दोलनका क्रममा भएका अप्रिय घटनाबारे छानबिन गर्न माग गर्दै नेविसंघले काठमाडौं र ललितपुर दुवै जिल्ला प्रहरी परिसरमा उजुरी दिएको हो ।

advertisement

नेविसंघका अनुसार बालेन शाह र सुदन गुरुङले विद्यार्थीहरूलाई आन्दोलनमा उक्स्याएको, तोडफोड र आगजनी गराएको तथा सरकारी र निजी सम्पत्तिमा क्षति पुर्‍याएको आरोप उजुरीमा उल्लेख गरिएको छ । साथै, राष्ट्रिय सम्पदामा हानी पुर्‍याउने कार्यमा संलग्नताको पनि अनुसन्धान गर्न माग गरिएको छ ।

उजुरी नेविसंघका केन्द्रीय सदस्य मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाहले दिएका हुन् । उनीहरूले बालेन र सुदनलाई २४ घण्टाभित्र पक्राउ गरी कानुनी अनुसन्धान अघि बढाउन माग गरेका छन् ।

यसअघि सुदन गुरुङसहितका युवाहरूले जेन–जी आन्दोलनमा भएको प्रहरी दमनका विषयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायतका विरुद्ध जाहेरी दिएका थिए । त्यसपछि नेकपा (एमाले) निकट अनेरास्ववियुले पनि उनीहरूविरुद्ध उजुरी दर्ता गरेको थियो ।

यससँगै जेन–जी आन्दोलनका घटनालाई लिएर राजनीतिक दलका विद्यार्थी संगठनबीच आरोप–प्रत्यारोप र कानुनी प्रक्रिया तीव्र बन्दै गएको छ ।

प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com