काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ झापाको कन्काई पुलको निरीक्षणका लागि १४ वर्षपछि स्थलमा पुगेका छन्। हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने पुलको निर्माण प्रगतिबारे मन्त्री घिसिङले प्रत्यक्ष जानकारी लिएर स्थानीयसँग छलफल पनि गरेका छन्।

७ सय २३ मिटर लामो कन्काई पुल ‘डिजाइन एन्ड बिल्ड’ मोडेलमा निर्माण गर्न आर्थिक वर्ष २०६७/६८ मा पप्पु–महादेव खिम्ती संयुक्त उपक्रमसँग करिब ५१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। तर, १४ वर्षपछि पनि पुलको भौतिक तथा वित्तीय प्रगति करिब ५५ प्रतिशतमा मात्र सीमित छ।

advertisement

मन्त्री घिसिङले लामो समयदेखि निर्माण अलपत्र परेको जानकारी पाएको उल्लेख गर्दै अब यसको विस्तृत अध्ययन गरी छिट्टै ठोस निर्णय लिने बताए। उनले भने, ‘पुल निर्माण लामो समयदेखि अलपत्र छ। ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने कि निर्माण व्यवसायीसँग मिलेर काम अघि बढाउने भन्नेबारे तत्काल निर्णय लिनेछौं। जनजीविकासँग जोडिएको रणनीतिक महत्त्वको पुललाई यथास्थितिमा राख्न सक्दैनौं।’

स्थानीय बासिन्दा र व्यापारिक समुदायले पुलको अभावले कठिनाइ भोग्नुपरेको, पर्यटन प्रवद्र्धनमा असर पुगेको भन्दै तत्काल निर्माणको माग गर्दै आएका थिए।

पुल निर्माण व्यवसायीका अनुसार २०७६ सम्म काम भएको थियो, तर प्राविधिक त्रुटि देखिएपछि त्यसको परीक्षण गरियो र त्रुटि सच्याउन केही काम गरिएको थियो। ठेक्का सम्झौताको अवधि २०८० मा सकिनुपर्ने भए पनि सार्वजनिक खरिद नियमावलीमा भएका संशोधनअनुसार म्याद थपको निवेदन पेश गरिएको छ।

हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार पुलका १९ स्पानमध्ये ८ स्पान पूरा भइसकेका छन्। बाँकी ११ स्पानमध्ये २ वटा बिमसम्म गढेर बनाइएको छ भने ६ वटा स्पानको जग तयार छ र ३ वटा अझै बाँकी छन्।

मन्त्री घिसिङले १८–१९ असोजमा झापा गाउँपालिका–२ स्थित कन्काई सानोमाई खोला पुल पनि निरीक्षण गरेका छन्। वर्षाका कारण क्षति पुगेको उक्त पुलको प्राविधिक परीक्षण गरी आवश्यक निर्णय लिन उनले आग्रह गरे।

निरीक्षण टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, गृह सचिव रामेश्वर दंगाल, सडक विभागका महानिर्देशक विजय जैसी, झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी लगायत उपस्थित थिए।

प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com