काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो।

स्रोतका अनुसार, महराको नाम २०७९ पुस १० गते फ्लाई दुबईको एफजेट–०५८७ उडानमार्फत काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङसँग जोडिएको सुन तस्करी प्रकरणमा आएकाे हो। उक्त यात्रु लि हानसोङले ल्याएका दुई सुटकेशभित्र ७३ बट्टामा प्याक गरिएका ७३० भेप (इ–सिगरेट) भेटिएका थिए। ती भेपभित्र लुकाइएका सुनको मूल्य करिब ८ करोड ५५ लाख रुपैयाँ बराबर रहेको पाइएको थियो।

advertisement

अनुसन्धानले देखाएको अनुसार, सो सुन त्रिभुवन विमानस्थल भन्सारका तत्कालीन नासु रेवन्त खड्का लगायतका व्यक्तिहरूको मिलेमतोमा भित्र्याइएर बेचिएको थियो। उक्त सुन छुटाउन महराले भन्सार निकायमा दबाब दिएको आरोप लागेको छ।

यसै प्रकरणमा उनका छोरा राहुल महरा यसअघि नै पक्राउ परी कारागार चलान भइसकेका छन्।

सीआईबीले केही दिनअघि महरासँग बयान लिएर थप प्रमाण संकलन गरेपछि पक्राउ प्रक्रिया अघि बढाएको हो। अनुसन्धानका क्रममा प्राप्त कल रेकर्ड अनुसार, महरा र उनका छोरा राहुलले सो प्रकरणमा संलग्न चिनियाँ नागरिक लि हानसोङ र दाओनिज वाङसँग निरन्तर सम्पर्क राखेको पाइएको छ।

स्रोतका अनुसार, यसअघि राजनीतिक प्रभावका कारण स्थगित रहँदै आएको यो प्रकरणमा अहिले नयाँ सरकार गठनपछि अनुसन्धान तीव्र गतिमा अघि बढाइएको हो।

प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com