काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले आज अदालत उपस्थित गराउन लागेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार ललितपुरको खुमलटारस्थित निवासबाट उनलाई पक्राउ गरेको हो ।
सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार, इलेक्ट्रोनिक चुरोट ‘भेप’मा लुकाएर ल्याइएको सुन प्रकरणमा अनुसन्धान गर्न महरालाई पक्राउ गरिएको हो । ‘कानुनबमोजिम आवश्यक अनुसन्धान अघि बढाइरहेका छौँ,’ एसएसपी श्रेष्ठले भने ।
प्रहरीले सरकारी वकिलमार्फत सोमबार काठमाडौँ जिल्ला अदालतमा महरालाई म्याद थपका लागि उपस्थित गराउने तयारी गरेको छ ।
यसअघि, सन् २०२४ को चैत ५ गते पनि महरा सोही प्रकरणमा पक्राउ परेका थिए । बयान प्रक्रिया पूरा भएपछि उनी त्यसबेला हाजिर जमानीमा रिहा भएका थिए । तर, सुशीला कार्कीको नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद् गठन र सीआईबीको नयाँ नेतृत्व आएपछि करिब १८ महिनापछि उनी पुनः पक्राउ परेका हुन् ।
सुन तस्करी नियन्त्रणका लागि गठित जाँचबुझ आयोगले महरालाई सुन तस्करीमा संलग्न ठहर गर्दै पुनः मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा सीआईबीले थप अनुसन्धान गरेर ‘पुरक प्रतिवेदन’ जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ ।
अनुसन्धानका क्रममा महराको नाम चिनियाँ सुन तस्कर दाओजिन वाङसँग जोडिएको खुलेको छ । आयोगले वाङसँगको सम्बन्धका कारण महरालाई ‘संगठित सुन तस्करी’मा संलग्न देखाउँदै मुद्दा चलाउन सिफारिस गरेको हो ।
महराले यसअघिको बयानमा दाओजिन वाङसँग चिनजान रहेको स्विकार गरेका छन् । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार, उनले भनेका थिए, ‘वाङसँग चिनजान त छ, तर कारोबार गरेको छैन ।’
यो प्रकरणमा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको ७३० थान भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारले जफत गरेको थियो । उक्त सुन फुकुवा गराउन महरा र उनका छोरा राहुलले पहल गरेको प्रमाण खुलेको अनुसन्धान निकायले जनाएको छ । यसअघि राहुल महरा पनि यसै मुद्दामा पक्राउ परेका थिए ।
प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार












प्रतिक्रिया