काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको उजुरी दर्ता गरेको छ ।
सुवेदीले एक युट्युब च्यानलमा बोल्दै ‘जेनजी आन्दोलन’ सुरु हुनुअघि दुई दिनअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासबाट दुई ट्रकभरि दुई करोड रुपैयाँ निकालिएको’ दाबी गरेका थिए ।
सो अभिव्यक्तिलाई असत्य र भ्रम फैलाउने उद्देश्यले गरिएको भन्दै माओवादी केन्द्रले त्यसको तीव्र खण्डन गरेको छ । पार्टीले बिहीबारै विज्ञप्ति जारी गर्दै असत्य जानकारी प्रचार गरिएको उल्लेख गर्दै, आइतबार नेपाल प्रहरीको साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गरेको हो ।
अध्यक्ष प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार, उजुरीमा सुवेदीले डिजिटल माध्यममार्फत् झुठा र चरित्रहत्या गर्ने अभिव्यक्ति दिएका कारण साइबर अपराध अन्तर्गत कारबाही गर्न माग गरिएको छ ।
‘सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट पार्टी नेतृत्वमाथि गरिएको यस्तो चरित्रहत्या गम्भीर साइबर अपराध हो,’ प्रचण्डको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डिजिटल माध्यम प्रयोग गरी गरिएको गलत प्रचारप्रसार सूचना प्रविधि ऐनविपरीत भएकाले सोबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरिएको छ ।’
माओवादीले यस्ता असत्य र नियोजित प्रचारले लोकतान्त्रिक मूल्य र व्यक्तिको सम्मानमाथि आघात पुग्ने भएकाले सुरक्षा निकायले तत्कालतः कानुनी प्रक्रिया अघि बढाउनुपर्ने बताएको छ ।
प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार












प्रतिक्रिया