काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेका लागि कसैलाई पनि कार्यवाहक सभापतिको जिम्मेवारी नदिने बताएका छन् । महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र कार्यवाहक नियुक्तिको विषयमा चलिरहेको छलफलबीच देउवाको सचिवालयले यस्तो स्पष्ट गरेको हो ।

देउवाका स्वकीय सचिव भानु देउवाले रातोपाटीसँग कुरा गर्दै अहिलेसम्म कार्यवाहक दिनेबारे कुनै औपचारिक छलफल नै नभएको बताए । उनले भने, ‘अहिलेसम्म कार्यवाहक दिने विषयमा कुनै तयारी वा निर्णय भएको छैन ।’

advertisement

सभापति देउवा मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुने भएका छन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बुढानीलकण्ठस्थित निवासमै आन्दोलनकारीबाट घाइते भएपछि उनी सार्वजनिक रूपमा देखिएका थिएनन् । सचिव भानुका अनुसार मंगलबार देउवा बैठकमा उपस्थित भएर सम्बोधन गर्ने तयारीमा छन् ।

पार्टीका एक पदाधिकारीका अनुसार बैठक लामो चलेमा देउवाले अस्थायी रूपमा बैठक अवधिका लागि कार्यवाहक तोक्नेबारे आन्तरिक छलफल भइरहेको छ । तर, महाधिवेशन सम्पन्न नहुँदासम्म स्थायी रूपमा कार्यवाहक नियुक्त गर्ने कुनै योजना देउवाको नभएको ती पदाधिकारीले बताएका छन् ।

देउवाको चार वर्षे कार्यकाल आगामी मंसिर मसान्तमा समाप्त हुँदैछ । पार्टी विधानअनुसार उनी फेरि सभापतिमा दोहोरिन पाउँदैनन् । देउवाले पनि पछिल्ला महिनाहरूमा आफू अब सक्रिय राजनीतिबाट अवकाश लिन चाहेको संकेत दिएका छन् ।

मंगलबारको केन्द्रीय समिति बैठकमा महाधिवेशनको मिति टुंग्याउने मुख्य एजेन्डा रहनेछ । पदाधिकारी, पूर्वपदाधिकारी र कार्यसम्पादन समिति बैठकहरूमा हाल उपसभापति पूर्णबहादुर खड्का कार्यवाहकका रूपमा अध्यक्षता गर्दै आएका छन् ।

पार्टी प्रवक्ता डा. प्रकाश शरण महतका अनुसार शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा कार्यवाहक नियुक्तिबारे कुनै चर्चा भएको थिएन । तर, पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री डा. शशांक कोइरालाले देउवाले अब कार्यवाहक तोक्नुपर्ने धारणा सार्वजनिक रूपमा राख्दै आएका छन् ।

यसैबीच, देउवाका निकट मानिने केन्द्रीय सदस्य उदयशमशेर राणाले पनि आइतबार सभापति देउवालाई महाधिवेशन तयारी सघाउन कार्यवाहक जिम्मेवारी तोक्ने सुझाव दिएका छन् ।

प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com