काठमाडौं । जेनजी आन्दोलनको क्रममा नेकपा केन्द्रीय कार्यालयबाट लुटपाट भएका केही सामान माओवादी केन्द्रले फिर्ता ल्याएको छ । भदौ २४ गते कोटेश्वरको पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालयमा लुटपाट र आगजनी भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौं कार्यालयले विभिन्न स्थानबाट संकलन गरेका मोनिटर, सीपीयु, प्रिन्टर, फ्यान, इन्भर्टर, माओत्सेतुङका दुईवटा शालिक, झोला लगायतका सामान आइतबार माओवादी केन्द्रलाई फिर्ता दिएको हो ।
माओवादी केन्द्रले केन्द्रीय कार्यालयबाट लुटिएका सामान खोजी गर्न मातहतका कमिटीहरुलाई सर्कुलर समेत गरेको थियो । प्रहरीले पनि लुटपाटका भएका सामान फिर्ता गर्न सार्वजनिक आह्वान गरेको थियो । त्यसपछि बानेश्वर प्रहरी कार्यालयमा केही सामान फिर्ता भएका थिए भने केही सामान प्रहरीले नै फेला पारेको थियो । ती सामानहरु बानेश्वर प्रहरीले जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइदिएको थियो।
आइतबार माओवादी केन्द्रीय कार्यालयको आधिकारिक पत्र लिएर माओवादी कार्यकर्ताहरु सामान लिन जिल्ला प्रहरी परिसर पुगेका थिए।
प्रहरीबाट सामान बुझेका वाईसीएलका नेता दीपक न्यौपानेले भने, ‘हामीले हाम्रो हो भनेर चिनिने जति सामान ल्याएका छौं । त्यसमा ३ थान मोनिटर, ५ थान सीपीयु, १६ थान मजदुर संगठनको लोगो अंकित झोला अनि इन्भर्टर, फ्यान, एउटा प्रिन्टर लगायतका सामान छन् ।’
उनले आफ्ना सामान सुरक्षित राखिदिएको र फिर्ता ल्याउन सहयोग गरेको भन्दै प्रहरीप्रति आभार प्रकट पनि गरे ।
स्रोतका अनुसार माओवादी केन्द्रले चोरी भएका सामान खोज्न सर्कुलर गरेपछि परिचालित भएका कार्यकर्ताहरुले काठमाडौंकै निम्न वर्गीय व्यक्तिको बसोबास रहेको बस्तीहरुमा केही सामान फेला परेका थिए । ती बस्ती खुलाउन नचाहेका एक कार्यकर्ताले भने, ‘हामी निम्न वर्गकै लागि लड्ने पार्टीका चोरीका सामान तिनै बस्तीहरुमा फेला पर्दा अत्यन्त दु:ख लाग्यो ।’
प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार












प्रतिक्रिया