काठमाडौं । करिब डेढ महिनापछि सर्वोच्च अदालतले आज (मंगलबार)देखि रिट निवेदन दर्ता र सुनुवाइ प्रक्रिया पुनः सुरु गरेको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितका सबै न्यायाधीशहरूको पूर्ण बैठक (फुल कोर्ट) ले अदालतको नियमित कार्य पुनः सञ्चालन गर्ने निर्णय गरेपछि आजदेखि रिट दर्ता तथा सुनुवाइ हुने भएको हो।
सर्वोच्च अदालतले सोमबार जारी गरेको सूचनामा भनिएको छ, ‘यस अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का दफा ७३, १३७ र १५५ बमोजिमका निवेदनहरू असोज २८ गतेदेखि दर्ता र सुनुवाइ गरिनेछ।’
सूचनामा थप उल्लेख गरिएको छ कि अर्को सूचना प्रकाशित नभएसम्म अदालतका म्याद, हदम्याद र तारेख नजसिने व्यवस्था गरिएको छ।
गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा सर्वोच्च परिसरमा आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाट भएपछि अदालतको नियमित कामकाज स्थगित गरिएको थियो। त्यसयता सर्वोच्चले त्रिपालमुनि अस्थायी इजलासबाट मात्र अत्यावश्यक र बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाहरूको सुनुवाइ गर्दै आएको थियो।
प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार












प्रतिक्रिया