काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अहिलेको अन्तरिम सरकारको उद्देश्य प्रतिनिधिसभा चुनाव सम्पन्न गराउने मात्रै भएको स्पष्ट पारेका छन्। उनले फागुन २१ गते तय भएको निर्वाचनमा सबै दल जुट्नुपर्ने आवश्यकता औंल्याएका छन्।

केन्द्रीय समितिको बैठक सुरु हुनुअघि आफ्ना निकट नेताहरूसँगको आन्तरिक छलफलमा शेखरले संसद् पुनःस्थापनाको पक्षमा आफू नदेखिएको स्पष्ट रूपमा बताएका हुन्। उनले भने, ‘यो सरकार चुनावका लागि आएको हो, अब सबै दल चुनावको तयारीमा लाग्नुपर्छ।’

advertisement

शेखरले आज बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाटै १५औं महाधिवेशनको मिति तय हुने विश्वास व्यक्त गरे। उनले मिति घोषणा नभएसम्म बैठकको हल नछोड्ने अडान समेत सार्वजनिक गरे। ‘महाधिवेशनको मिति नतोकिएसम्म म बाहिरिने छैन,’ उनले भने।

उनका अनुसार सभापति शेरबहादुर देउवाले आजकै बैठकमा महाधिवेशनको स्पष्ट रोडम्याप प्रस्तुत गर्ने आशा गरिएको छ। कोइरालाले आफू नियमित महाधिवेशनको पक्षमा रहेको र त्यसैका लागि दबाब दिइरहेको बताए।

उनी कार्यवाहक सभापतिका रूपमा उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिन सकिने बताउँदै त्यसमा आफूलाई आपत्ति नहुने धारणा पनि राखे।

आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारी भइरहेको उनले खुलासा गरे। उनका अनुसार गगन थापा समूहसँग पनि सहकार्यबारे छलफल जारी छ।

शेखरले अन्त्यमा भने, “पार्टी अब स्पष्ट दिशामा अघि बढ्नुपर्छ  ,महाधिवेशनको मिति घोषणा, संगठन सुदृढीकरण र आगामी चुनाव तयारी नै अहिलेको प्राथमिकता हो।”

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com